२८, असोज २०८२
बाँके । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाएका नेपालगञ्जका युवाद्वय शुलभ श्रेष्ठ र आयुष थापाका नाममा गेट र सडक निर्माण गरिने भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१ ले धम्बोझी प्रहरी गुल्मबाट वाटरपार्कतर्फ जाने बाटोलाई ‘शुलभ मार्ग’ नामाकरण गर्दै सो ठाउँमा ‘शुलभ गेट’ निर्माण गर्ने निर्णय गरेको छ। त्यस्तै, खजुरा रोडस्थित शिव मन्दिरदेखि विशालनगर चोकसम्मको बाटोलाई ‘आयुष मार्ग’ नाम दिँदै विशालनगर चोकमा ‘आयुष गेट’ बनाइने भएको छ।
वडाध्यक्ष प्रमोद रिजालका अनुसार, यो निर्णय केवल नामकरणको प्रतीक होइन, नयाँ पुस्ताले देखाएको साहस र न्यायप्रतिको प्रतिबद्धताको स्मारक हो।
“यी नामहरू केवल साइनबोर्डमा सीमित हुने छैनन्,” उनले भने, “यी नामहरू न्यायका लागि आवाज उठाउने प्रत्येक युवाको मनमा बाँचिरहनेछन्।”
गत भदौ २३ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागी शुलभ र आयुषको मृत्यु भएको थियो। दुवै वडानं १ का स्थायी बासिन्दा रहेका यी युवाहरू ‘नयाँ पुस्ताको प्रतीक’का रूपमा परिचित भएका छन्।
उनीहरूले स्वतन्त्र सोच्ने, नडराउने र अन्यायविरुद्ध बोल्ने समाजको सपना देखेका थिए। आन्दोलनका क्रममा ज्यान गुमाए पनि उनीहरूको आत्मा र विद्रोहको आवाज अझै पनि जिवित रहेको स्थानीयहरू बताउँछन्।
गेट र सडक निर्माणको निर्णयलाई स्थानीय युवाहरूले ‘एक पुस्ताको सम्मान’का रूपमा लिएका छन्। उनीहरूका अनुसार, जब कसैले ‘शुलभ मार्ग’ हुँदै हिँड्नेछ वा ‘आयुष गेट’ पार गर्नेछ, त्यो प्रत्येक पाइला स्वतन्त्रता, समानता र न्यायका लागि बलिदान दिने युवाहरूको सम्झनामा हुनेछ।
नेपालगञ्जको मुटुमा बन्ने यी संरचनाहरू केवल बाटो र गेट मात्र होइनन् — ती नयाँ पुस्ताको चेतना, प्रतिरोध र परिवर्तनको प्रतीक बन्नेछन्।