अपाङ्गतामैत्री शौचालयबाट १६ बालबालिका लाभाविन्त

  • नमस्ते कर्णाली

  • सुर्खेत, ३०असोज ।

    विद्यालयमा अपाङ्गतामैत्री शौचालय निर्माण भएपछि शारीरिक अपाङ्गता भएका बालबालिकालाई सहज भएको छ । गुर्भाकोट नगरपालिका–१३, गुमीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय नयाँ गाउँमा तीन कोठे अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको हो ।

    शौचालय निर्माण गरिएसँगै शारीरिक अपाङ्गता भएका १६ जना बालबालिकालाई सहज भएको विद्यालयका प्रधानाध्यापक हर्कबहादुर बढाले बताए । उनले अब विद्यालयमा अध्ययनरत शारीरिक अपाङ्गता भएका बालबालिकालाई आवासको समस्या रहेको बताए । विद्यालय हाताभित्र भवनको अभावले बाहिर बस्नुपर्दा विद्यार्थीलाई आवागमनमा निकै समस्या हुने गरेको उनको भनाई छ ।

    अपाङ्गता भएका सिमान्तकृत व्यक्ति तथा विपन्न परिवारका बालबालिकाहरुको शिक्षामा पहुँच बृद्धि गराउँनुका साथै क्षमता विकासका तालिममार्फत आयआर्जनमा सहयोग पुर्‍याउँदै आएको गैरसरकारी संस्था परिलक्षितको सहयोगमा उक्त शौचालय निर्माण गरिएको हो । उक्त विद्यालयमा विभिन्न जिल्लाका शारीरिक अपाङ्गता भएका विद्यार्थीहर अध्ययन गर्दै आएका छन् ।

    संस्थाले गुर्भाकोट नगरपालिका र विद्यालयसँगको सहकार्यमा सात लाख रुपैयाँ खर्चेर अपाङ्गतामैत्री शौचालय निर्माण गरिदिएको हो । त्यस्तै, संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा गुर्र्भाकोटमा अपाङ्गता सशक्तिकरणका क्षेत्रमा विभिन्न काम गरेको छ । परिलक्षित संस्थाका कार्यक्रम संयोजक राजु लामिछानेका अनुसार गत वर्ष अपाङ्गता भएका बालबालिकाको गुणस्तरीय शिक्षामा पहँुच, अपाङ्गगता भएका व्यक्तिको सामाजिक तथा आर्थिकस्थितीमा सुधार, अपाङ्गगता भएका व्यक्तिहरुको हक र अधिकार संरक्षण, सम्वद्र्धनमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

    जसमा गुर्भाकोटका पाँच जना अपाङ्गता भएका विद्यार्थीलाई स्नातक र स्नाकोत्तर तह अध्ययनका लागि छात्रवृत्ती प्रदान गरिएको छ । यस्तै, नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत १६ जना बालबालिकालाई पोषणयूक्त खानामा सहयोग गरिएको छ । जसका कारण विद्यार्थीले विद्यालय छोड्ने दरमा कमी आएको जनाइएको छ ।

    तीन जनालाई कार्यगत सिकाई तालिम, पाँच जनालाई बाख्रा तथा बंगुर पालन सहयोग गरिएको कार्यक्रम संयोजक लामिछानेले बताए । यस्तै, बाल संरक्षण नीतिका विषयमा आठ जना विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरुलाई जनचेतनामुलक तालिम प्रदान गरिएको छ । अपाङ्गता भएकी एक जना किशोरी र उनको परिवारको जिविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले किराना पसलको व्यवस्थापन गरिएको छ ।

    त्यस्तै, दुई जनालाई तरकारी खेती सम्बन्धि तालिम तथा सामग्री हस्तान्तरण तथा नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरुलाई विद्यालय भर्नामा सहयोग गरिएको संस्थाले जनाएको छ । गत वर्ष गुर्भाकोटमा अपाङ्गता शसक्तिकरणका क्षेत्रमा १७ लाख १० हजार पाँच सय रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन भएको संस्थाले जनाएको छ ।

    संस्थाद्वारा कार्यक्र संचालन गरिएका क्षेत्रको स्थलगत अवलोकन गर्दै गुर्भाकोट नगरपालिकाका उप–प्रमुख मैना विकले अपाङ्गताका क्षेत्रमा गरिएका काम प्रंशसायोग्य रहेको बताइन । उनले सरकारले गर्ने काममा संस्थाले सघाउ पुर्‍याइ रहेको उल्लेख गर्दै आगामी दिनमा समेत यस्या कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिइन ।

    नगरपालिकाले नगर क्षेत्रमा सबै खाले अपाङ्गताको स्थिती नक्साङ्कन गर्न पाँच वर्षे अपाङ्गता रणनीति तयार गरिरहेको समेत उनले बताइन । उक्त रणनीति तयार भए पश्चात अपाङ्गताका क्षेत्रमा आवश्यकताका आधारमा कार्यक्रम तय गरिने उनले दावी गरिने । उनका अनुसार चालु आर्थिक वर्षमा अपाङ्गताका क्षेत्रमा नगरपालिकाले १० लाख बजेट व्यवस्थापन छ ।

  • ३० आश्विन २०८२, बिहीबार १४:१० प्रकाशित

  • Nabintech