६ वर्षपछि कोहलपुरमा रहेको मौसम कार्यालय पुनः सुर्खेतमा, कर्णालीमा विपद् व्यवस्थापनमा आशा जग्यो

  • नमस्ते कर्णाली

  • २,  कार्तिक २०८२

    बाँके । कर्णाली प्रदेशबाट लुम्बिनी प्रदेशको कोहलपुर सारिएको जल तथा मौसम विज्ञान कार्यालय पुनः कर्णालीमै फर्किएको छ। २०७६ सालमा सुर्खेतबाट कोहलपुर स्थानान्तरण गरिएको कार्यालय करिब ६ वर्षपछि पुनः सुर्खेतमै स्थापना गरिएको हो।

    ऊर्जा, जलस्रोत तथा सिंचाई विकास मन्त्रालय मातहतको उक्त कार्यालय सुर्खेत फर्किएसँगै कर्णाली प्रदेशमा विपद्पूर्व तयारी र विपद्पछिको प्रतिकार्य प्रणाली सुदृढ हुने अपेक्षा गरिएको छ। वर्षेनी बहुप्रकोपीय विपद्जन्य जोखिमका कारण धनजनको ठुलो क्षति व्यहोर्दै आएको कर्णालीमा अब मौसमी सूचना र विश्लेषण स्थानीयस्तरमै उपलब्ध हुने भएको छ।

    जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतकी प्रमुख डा. इन्दिरा कँडेलका अनुसार कार्यालय सञ्चालनमा आएपछि मौसमी सूचनाको समयमै विश्लेषण र प्रसारणले जनजीवन सुरक्षित बनाउन सहयोग पुर्‍याउनेछ।
    “मौसम सम्बन्धी जानकारी र सूचनाको विश्लेषणले नै विपदबाट हुन सक्ने मानवीय र धनजनको क्षति घटाउन सकिन्छ,” डा. कँडेलले बताइन्, “अब प्रदेश र स्थानीय सरकारले मौसम कार्यालयसँग समन्वय गरेर नागरिकको जिउधन जोगाउन प्रभावकारी योजना बनाउन सक्नेछन्।”

    कमजोर भू–बनोट, छरिएका बस्ती र वातावरणीय अध्ययनबिनै हुने विकास गतिविधिले कर्णालीमा हरेक वर्ष मौसमजन्य विपद्बाट ठूलो क्षति हुने गरेको छ। यसका प्रमुख कारणमध्ये एक कर्णालीमै स्थायी मौसम विश्लेषण प्रणालीको अभाव रहेको मानिँदै आएको थियो।

    जल तथा मौसम विज्ञान कार्यालय लुम्बिनीमा सारिँदा विपद् सम्बन्धी मौसमी तथ्यांक लिन प्रदेश र स्थानीय सरकारलाई कठिनाइ भएको थियो। यही समस्या समाधानका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले लामो समयदेखि कार्यालय सुर्खेतमा पुनःस्थापना गर्ने पहल गर्दै आएको थियो। मन्त्रालयका निमित्त सचिव उत्तम गौतमका अनुसार, “कार्यालय सुर्खेतमै रहँदा विपद् पूर्वतयारी र प्रतिकार्यमा प्रभावकारी समन्वय हुने छ।”

    यसअघि वीरेन्द्रनगरस्थित कार्यालयबाट मध्य र सुदूरपश्चिम क्षेत्रको मौसमी तथ्यांक संकलन तथा सूचना सम्प्रेषण हुँदै आएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जल तथा मौसम विज्ञान विभागलाई चार क्षेत्रीय कार्यालयमा विभाजन गर्ने निर्णय गरेपछि सुर्खेतको कार्यालय कोहलपुर स्थानान्तरण गरिएको थियो, जसको कर्णालीमा तीव्र विरोध भएको थियो।

    मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठकले पनि संघीय सरकारसँग कार्यालय सुर्खेतमै सार्न अनुरोध गरेको थियो।

     

    प्रयोगविहीन राडार अब मर्मतको तयारीमा

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसमी गतिविधिको निगरानी गर्न सुर्खेतको रातानाङ्लामा स्थापना गरिएको अत्याधुनिक रेडियो डिटेक्सन एण्ड रेन्जिङ (राडार) भने तीन वर्षदेखि प्रयोगविहीन बनेको छ।

    २०७६ मंसिरमा तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले उद्घाटन गरेको उक्त राडारले वर्षा, हावा, तापक्रम, आँधीहुरी र बाढीपहिरोको पूर्वानुमान गर्न सहयोग पुर्‍याउने लक्ष्य राखिएको थियो। तर चट्याङका कारण इन्भर्टर र जेनेरेटरमा क्षति पुग्दा राडार निष्क्रिय बनेको हो।

    विश्व बैंकको १८ करोड रुपैयाँ लागतमा बनेको राडारको मर्मत यसै वर्षभित्र सम्पन्न गर्ने तयारी भइरहेको कार्यालय प्रमुख डा. कँडेलले जानकारी दिइन्। “राडारमा प्रयोग भएको प्रविधि जटिल भएकाले स्वदेशी जनशक्तिबाट मर्मत सम्भव छैन, त्यसैले परामर्शदातामार्फत काम अघि बढाउने तयारी छ,” उनले बताइन्।

     

    मौसम कार्यालय सुर्खेतमै फर्किएसँगै राडार मर्मत सम्पन्न भएपछि कर्णाली प्रदेशमा विपद् पूर्वसूचना प्रणाली पुनः सशक्त बन्ने, मौसमी तथ्यांक समयमै उपलब्ध हुने र प्रदेशस्तरीय विपद् व्यवस्थापनमा नयाँ आशा जागेको छ।

     

  • ३ कार्तिक २०८२, आईतवार १७:५८ प्रकाशित

  • Nabintech