बर्दियामा मतदाता नामावली दर्ता सुस्त गतिमा : असोज मसान्तसम्म जम्मा ४०४ जनाको मात्र नाम दर्ता

  • नमस्ते कर्णाली

  • ३, कार्तिक २०८२
    बर्दिया । आगामी निर्वाचनको तयारी स्वरूप सुरु गरिएको मतदाता नामावली दर्ता अभियान बर्दियामा सुस्त गतिमा अघि बढिरहेको छ। निर्वाचन आयोगले असोज १० गतेदेखि सुरु गरेको अभियानमा असोज मसान्तसम्म पुग्दा जिल्लाभर जम्मा ४०४ जनाले मात्र नाम दर्ता गरेका छन्।

    निर्वाचन कार्यालय बर्दियाका अनुसार असोज मसान्तसम्म पुरुष २५५ र महिला १४९ जना गरी कुल ४०४ जनाले नयाँ मतदाता सूचिमा नाम लेखाएका हुन्।
    कार्यालयका सूचना अधिकारी अनुप ढकालका अनुसार पछिल्लो समय दैनिक ३० देखि ५० जनासम्मले नाम दर्ता गराइरहेका छन्। सुरुमा ढिलो भए पनि अहिले क्रमशः सहभागिता बढ्दै गएको उनले बताए।

    हाल बर्दिया जिल्लामा तीन लाख १७ हजार ३३४ जना मतदाता रहेका छन् — जसमा पुरुष एक लाख ५६ हजार ९५, महिला एक लाख ६१ हजार २३३ र अन्य ६ जना छन्।

    सूचना अधिकारी ढकालका अनुसार तिहारको तयारी र धान काट्ने समय परेकाले पनि हाल मतदाता नाम दर्तामा अपेक्षित सहभागिता नदेखिएको हो। उनले भने, “तिहारपछि हरेक स्थानीय तहबाट नाम दर्ता गराउन आउनेको संख्या उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ।”

    निर्वाचन कार्यालयका अनुसार हरेक पालिका र वडा कार्यालयमार्फत नागरिकलाई केही दिनका लागि दर्ता केन्द्रमा आउन आग्रह गरिएको छ। तर, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका र बाँसगढी नगरपालिका जस्ता स्थान सदरमुकामदेखि टाढा भएकाले स्थानीयहरूले निकट स्थानमै दर्ता सुविधा उपलब्ध गराउन माग गर्दै आएका छन्।

    निर्वाचन कार्यालयले भने आगामी निर्वाचनलाई ध्यानमा राख्दै सुगम र प्रभावकारी दर्ता सेवा सुनिश्चित गर्न तयारी भइरहेको जनाएको छ।

     

  • ४ कार्तिक २०८२, सोमबार १७:४३ प्रकाशित

  • Nabintech