४, कार्तिक २०८२
जुम्ला ।तिहार र छठ पर्वको पूर्वसन्ध्यामा जुम्लाको चन्दननाथ नगरपालिका–३ वडामा जिल्लास्तरीय भव्य फुटबल प्रतियोगिता सुरु भएको छ। “खेलकुदमार्फत युवा एकता र सामाजिक समृद्धि” भन्ने नारासहित सुरु भएको प्रतियोगितामा कुल ४४ टिम सहभागी भएका छन्, जसले जुम्लाली खेलप्रेमीहरूमा विशेष उत्साह थपेको छ।
उक्त प्रतियोगिताको उद्घाटन चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले गर्नुभयो। प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले भन्नुभयो, “फुटबलजस्ता खेलले युवामा ऊर्जा भर्नुका साथै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने काम गर्छ। स्थानीय स्तरमै यस्ता प्रतियोगिता नियमित हुन जरुरी छ।”
उद्घाटन खेलमा आयोजक चन्दननाथ–३ वडाको टिमले ढाणथपला युवा क्लबलाई ४–० गोलले पराजित गर्दै शानदार सुरुवात गर्यो। चन्दननाथका अभिषेक बुढथापा ‘म्यान अफ द म्याच’ घोषित भए।
त्यस्तै दोस्रो खेलमा गुठिचौर गाउँपालिकाको फोइकालिका एफसी युवा क्लबले सिद्धगुफा युवा क्लबलाई ५–० को एकतर्फी नतिजामा हरायो। उत्कृष्ट प्रदर्शनका लागि फोइकालिकाका धर्म परियार ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगिताका संयोजक राजबहादुर खत्रीका अनुसार विजेता टिमलाई नगद १ लाख १ हजार, ट्रफी र मेडल प्रदान गरिनेछ। उपविजेताले ५० हजार ५ सय नगदसहित सम्मान प्राप्त गर्नेछन्।
उनका अनुसार, “जुम्लामा फुटबलप्रति युवाको आकर्षण तीव्र रूपमा बढ्दो छ। यस्ता प्रतियोगिताले स्थानीय स्तरका खेलाडीलाई अवसर प्रदान गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुर्याउनेछ।”
वडाध्यक्ष रतन खत्रीले भने, “यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभई युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर हो। खेलकुदले आपसी सम्बन्ध, सहकार्य र एकताको भावना मजबुत बनाउँछ।”
गुठिचौरदेखि तातोपानी गाउँपालिकासम्मका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिता कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ। आयोजक पक्षले खेललाई शान्तिपूर्ण, मर्यादित र अनुशासित ढंगले सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
स्थानीय खेलमैदानमा दर्शकहरूको बाक्लो उपस्थिति देखिएको छ। टोल–टोलबाट खेल हेर्न आएका उत्साही दर्शकहरूले प्रतियोगिताको रौनक अझै बढाएका छन्।
।