अर्घाखाँची ९ कार्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै योजना निर्माण र कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
नेकपा (एमाले)ले सन्धिखर्क-५ वाङ्गलामा आयोजना गरेकाे छलफल तथा अन्तरक्रिया कार्यक्रमलाइ सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले स्रोत-साधनको सिमितताबीच पनि विकास योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
‘हामी चाहन्छौं, जनताको आवश्यकता र समस्या छिटो समाधान होस् । तर साधन-स्रोतको कमीका कारण कतिपय योजना समयमा सम्पन्न हुन सकिरहेका छैनन्,’ उहाँले भन्नुभयो-‘यद्यपि, थालनी भएका योजनाहरूलाई पूरा गर्ने लक्ष्यसहित सरकार निरन्तर लागिपरेको छ ।’
मुख्यमन्त्री आचार्यका अनुसार सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सरकारले उच्च प्राथमिकता दिएको छ । उहाँले कुँडुले खानेपानी आयोजना कार्यान्वयन गरी पूरा गर्नेगरी सरकार अघि बढेको र मिलमिले-बलेवाङ्ग सडकसँगै सन्धिखर्क-तम्घास सडकखण्डको बाँकी काम पनि छिट्टै अघि बढ्ने जानकारी दिनुभयो ।
‘विकास निर्माणका काम अघि बढाउने विषयमा मैले गरेका प्रतिबद्धता र प्रतिज्ञाबाट म अलिकति पनि विचलित भएको छैन,’ उहाँले भन्नुभयो-‘विकास निर्माणकाे कामलाई अगाडि बढाउने सवालमा दृढताका साथ लागिरहेको छु र आगामी दिनमा पनि निरन्तर लागिरहने छु ।’
कार्यक्रममा एमाले जिल्ला सदस्य शुष्मा श्रेष्ठ, शिव अधिकारी, डिलाराम बन्जाडे लगायतले सम्वोधन गर्नुभएकाे थियाे । कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीले गर्नुभएको थियो ।



















