जेन जी आन्दोलनपछि जलेको अदालत परिसर पुनः संचालनमा, बार एशोसियसनको पहलमा मर्मत सम्पन्न

  • नमस्ते कर्णाली

  • १५, कार्तिक २०८२
    बाँके ।गत भदौ २४ गते ‘जेन जी’ आन्दोलनका क्रममा भएको आगजनीले उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलास र जिल्ला अदालत बाँके पूर्ण रूपमा जलेर ध्वस्त भएका थिए। सो क्रममा उच्च अदालत बार एशोसियसन नेपालगन्ज र जिल्ला अदालत बार एशोसियसनका भवनहरू समेत क्षतिग्रस्त भएका थिए।

    सरकारी संरचना नष्ट भई न्याय सम्पादनमा समस्या उत्पन्न भएपछि बार एशोसियसनले आफ्नै पहल, स्रोत र श्रम प्रयोग गरी क्षतिग्रस्त भवनहरूको मर्मत सम्भार सम्पन्न गरेको हो।

    उच्च अदालत बार एशोसियसन नेपालगन्जका अध्यक्ष चित्र बहादुर शाहीका अनुसार, पुनर्निर्मित बार भवन जिल्ला अदालतलाई हस्तान्तरण गरिएको छ। अबदेखि जिल्ला अदालतले बार भवनको तल्लो तलाबाट नियमित सेवा सञ्चालन गर्नेछ।

    अध्यक्ष शाहीले भन्नुभयो, “सरकारी संरचना ध्वस्त भएका कठिन अवस्थामासमेत बारले आफ्नै स्रोत र श्रमबाट मर्मत गरी न्यायिक सेवा निरन्तरता दिन सहयोग गरेको हो। यो वकिलहरूको ऐक्यबद्धता र न्यायप्रतिको प्रतिबद्धताको उत्कृष्ट उदाहरण हो।”

    वरिष्ठ अधिवक्ता लोकबहादुर शाहका अनुसार, बार एशोसियसनको यो पहलले विधि शासनका संस्थामाथि परेको क्षतिपछि न्यायिक सेवा पुनः सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

    भदौ २४ गतेको आगलागीमा अदालत परिसरका कागजात, संरचना र उपकरणहरू जलेका थिए। त्यसपछि न्यायिक कार्य अस्थायी रूपमा स्थगित गरिएको थियो। हाल बार एशोसियसनको सक्रियताले पुनः कामकाज सहज बनेको र सेवाग्राहीले राहत महसुस गर्न थालेका छन्।

  • १६ कार्तिक २०८२, शनिबार १०:३७ प्रकाशित

  • Nabintech