१५, कार्तिक २०८२
सुर्खेत ।कर्णाली प्रदेशको विद्युत विकासको मेरुदण्ड मानिएको कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन आयोजना अन्ततः नतिजा उन्मुख चरणमा पुगेको छ। बाँकेको कोहलपुरबाट सुरु भई सुर्खेतको सुब्बाकुना सवस्टेशनसम्म ५२ किलोमिटर दूरीमा फैलिएको उक्त आयोजना मंसिर मसान्तभित्र पूर्णता पाउने लक्ष्यसहित तीव्र गतिमा अघि बढिरहेको छ।
आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा रुख कटानको अनुमति प्राप्त भएपछि र बैजनाथ गाउँपालिकास्थित स्थानीय अवरोध हटेपछि कामले गति लिएको हो। उनले बाँके क्षेत्रमा अवरोध भएका स्थानहरूमा हाल टावर निर्माण कार्य जारी रहेको बताए।
७० करोड रुपैयाँ लागतको यो आयोजना नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच २०७६ असार २२ गते सम्झौता भई सुरु भएको हो। कानुनी प्रक्रिया र स्थानीय विवादका कारण ढिलाइ हुँदै आएको आयोजना अब पूर्णता नजिक पुगेको छ।
अवरोध र कानुनी विवाद अन्त्य
आयोजना कार्यान्वयनको क्रममा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका रुख कटान, भोगाधिकार समस्या र बैजनाथ गाउँपालिका–१ गाभर तथा वडा नं. ४ बानियाँभारका स्थानीयले गरेको अवरोध मुख्य चुनौती बनेका थिए।
गत वैशाखमा बानियाँभार क्षेत्रको राष्ट्रिय वनमा रुख हटाउने क्रममा स्थानीयले अवरोध गरेपछि प्रशासनले सुरक्षाकर्मीको सहयोगमा कार्य अघि बढाएको थियो।
स्थानीयले खेतीयोग्य जमिन प्रभावित हुने र उठिबास लाग्ने भन्दै प्रसारण लाइन सार्न माग गर्दै उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा रिट दायर गरेका थिए। अदालतले नागरिकलाई मुआब्जा प्रदान गरी आयोजना रोक्न नहुने आदेश दिएपछि विवाद अन्त्य भएको थियो।
कर्णालीमा पहिलो ठूला क्षमताको प्रशारण लाइन
कोहलपुर–सुर्खेत १३२ केभी लाइन कर्णाली प्रदेशको पहिलो उच्च क्षमताको प्रशारण पूर्वाधार हो। यसअघि २०४५ सालमा तत्कालीन राजा वीरेन्द्रको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले ३३ केभी लाइनमार्फत सुर्खेतसम्म मात्र विद्युत पुर्याएको थियो।
३७ वर्ष पुरानो सो संरचनाबाट हालसम्मै प्रदेशभर विद्युत आपूर्ति भइरहेको छ, जसका कारण लो भोल्टेज र अघोषित लोडसेडिङको समस्या दीर्घकालीन रूपमा देखिँदै आएको छ।
मुख्यमन्त्री कँडेलको स्थलगत अनुगमन
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रबार आयोजनाको प्रगतिबारे पुनः स्थलगत अनुगमन गरेका छन्।
तिहारअघि सम्पन्न हुने भनिएको आयोजना ढिलाइ भएपछि उनले हर्रे र बबईसम्म पुगेर निरीक्षण गरेका हुन्।
उनले भने,“कर्णालीको लाइफलाइन यो आयोजना छिटो सम्पन्न गर्न हामी निरन्तर प्रयासरत छौं। अहिले रोकिएका कामहरू पुनः सुरु भएका छन्। कार्तिक महिनाभित्र सुब्बाकुना सबस्टेशनमा विद्युत चार्ज गर्ने तयारी जारी छ।”
मुख्यमन्त्री कँडेलले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा जस्तोसुकै चुनौती आए पनि नडराई अघि बढ्न निर्देशन दिएका छन्।
सर्वोच्च प्राथमिकता प्राप्त कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन पूरा भएपछि कर्णाली प्रदेशले स्थायी र भरपर्दो विद्युत आपूर्ति पाउनेछ। यससँगै कर्णालीको औद्योगिक विकास र ऊर्जा सुरक्षामा नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको छ।










