१५, कार्तिक २०८२
बाँके ।नेपालगञ्जमा शुक्रबारबाट सुरु भएको नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पियनसिप–२०२५ को उद्घाटन खेलमै सगरमाथा स्वीमिङ क्लब, ललितपुरका राजवीन जिरेल र छियाना महर्जनले उत्कृष्ट प्रदर्शन गर्दै दुई–दुई स्वर्ण पदक जितेर प्रतियोगिताको सुरुवात शानदार बनाएका छन्।
उद्घाटन दिनको पहिलो खेल ५० मिटर अण्डर–८ ब्याकस्ट्रोक इभेन्टमा सगरमाथाका राजवीन जिरेलले पहिलो स्थान हासिल गर्दै उद्घाटन स्वर्ण पदक जिते। आदर्श मावि, नेपालगञ्जका युभान श्रेष्ठले रजत र कोशी प्रदेशका विष्णु पराजुलीले कांस्य पदक प्राप्त गरे।
त्यसपछि भएको २५ मिटर फ्रिस्टाइल अण्डर–८ ब्वाइज इभेन्टमा पनि राजवीनले शानदार प्रदर्शन गर्दै दोहोरो स्वर्ण आफ्नो नाममा लेखे। शिखा एकेडेमी, कोहलपुरका दिप्सन पुनमगर दोस्रो र आदर्श माविका युभान श्रेष्ठ तेस्रो स्थानमा रहे।
गल्र्सतर्फको प्रतिस्पर्धा पनि त्यति नै रोचक रह्यो।
२५ मिटर फ्रिस्टाइल अण्डर–८ गल्र्स इभेन्टमा सगरमाथाकी छियाना महर्जनले स्वर्ण जितिन्। आदर्श माविकी समृद्धि न्यौपानेले रजत र शिखा एकेडेमीकी श्रीजा रेग्मीले कांस्य पदक हात पारिन्।
छियानाले अर्को खेल २५ मिटर ब्याकस्ट्रोक अण्डर–८ गल्र्स इभेन्टमा पनि स्वर्ण जित्दै दोहोरो विजेता बन्न सफल भइन्। समृद्धि न्यौपाने दोस्रो र शिखा एकेडेमीकी काफिया चलाउने तेस्रो स्थानमा रहिन्।
विजेता खेलाडीहरूलाई लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले पदक तथा प्रमाणपत्र वितरण गरे।
प्रतियोगिताका विभिन्न उमेर समूहका खेलहरू शनिबारसम्म जारी रहने र आजै समापन समारोहका साथ कार्यक्रम सम्पन्न हुने आयोजक नेपालगञ्ज स्वीमिङ क्लबले जनाएको छ।










