१७, ला
हुम्ला।मौलिक कठिनाइसहित सीमित स्रोतसाधन र न्यून जनशक्तिका बीचमा पनि हुम्ला जिल्ला अस्पतालले असम्भवलाई सम्भव बनाएको छ । पहिलोपटक पूर्वनिर्धारित  सिजेरियन शल्यक्रिया गर्न स्वास्थ्य सेवा कार्यालयअन्तर्गत रहेको जिल्ला अस्पतालको समूह सफल भएको छ ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख एमडिजिपी डाक्टर उमाकान्त तिवारीको नेतृत्वमा सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी २१ वर्षीया हिरा सुनारको पूर्वनिर्धारित सिजेरियन शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको बताइएको छ ।
तीन वर्षअघि सुर्खेतमा पहिलो सन्तानका रूपमा छोरी जन्माएकी सुनारले यस पटक जिल्ला अस्पतालमा नै सुरक्षित रूपमा दोस्रो सन्तानलाई जन्म दिएका छन् । अहिले आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताए ।
डा. तिवारीको नेतृत्वमा नर्सिङ स्टाफ कञ्चन चौधरी, शर्मिला गिरी, सरिता बोहोरा र पारामेडिक्स प्रेम भण्डारी सम्मिलित टोलीले असाधारण समर्पण र पेसागत दायित्वसहित यो शल्यक्रिया सम्पन्न गरेको हो । अस्पताल परिवारले उक्त टोलीप्रति हार्दिक आभार व्यक्त गर्दै यो सफलता हुम्लाको सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सामूहिक मनोबल र समर्पणको प्रतिफल भएको बताएको छ ।
डाक्टर तिवारीले भने, “हामीसँग स्रोत र साधन सीमित भए पनि हाम्रा स्वास्थ्यकर्मीहरूको आत्मविश्वास असिम छ ।” यही आत्मविश्वासका कारण हामीले हुम्लामा पनि यस्तो सेवा सम्भव बनाएका हौँ । हुम्ला जस्तो दुर्गम जिल्लामा जहाँ जटिल शल्यक्रिया विरलै सञ्चालन हुने गर्छ, त्यहाँ यो सफलता केवल चिकित्सा उपलब्धि मात्र होइन, स्थानीय नागरिकका लागि ठूलो राहत र आशाको किरण बनेको उनको भनाइ छ ।
अस्पताल विकास समितिका अध्यक्ष दीपक भण्डारीले भन्नुभयो, “हाम्रा चिकित्सक र स्वास्थ्यकर्मीहरूले सीमित स्रोतबीच पनि असाधारण काम गरेर हुम्ला जिल्ला अस्पतालको आत्मविश्वास र क्षमतामा नयाँ ज्योति भरेका छन् । यो उपलब्धिले हामीलाई आगामी दिनमा अझ सशक्त र सक्षम स्वास्थ्य सेवा विस्तारको प्रेरणा दिएको छ । ”
यो सफल शल्यक्रियाले देखाएको छ । जब मनोबल उच्च हुन्छ, दुर्गमता र अभावले पनि बाटो रोकेर राख्दैन । हुम्ला जिल्ला अस्पतालको यो उपलब्धि सम्पूर्ण हुम्लावासीका लागि गर्व र आशाको विषय बनेको छ ।
         









