नेपाल प्रिमियर लिगको ट्रफी टुरले बाँकेमा उत्साह थपियो: खेलप्रेमीको घुइँचो

  • नमस्ते कर्णाली

  • १८, कार्तिक २०८२
    बाँके ।नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सुरु हुनुअघि बाँके र बर्दियाका विभिन्न स्थानमा गरिएको ट्रफी टुर कार्यक्रमले खेलप्रेमीहरूमा उत्साह थपेको छ। ट्रफी टुर कार्यक्रम अन्तर्गत लुम्बिनी लायन्सको टिम ट्रफीसहित बाँकेका दुई प्रमुख शहर कोहलपुर र नेपालगञ्ज तथा बर्दियाको बाँसगढी पुगेको थियो।

    एनपीएलप्रति सर्वसाधारणको समर्थन आर्जन गर्ने उद्देश्यले गरिएको ट्रफी टुर अन्तर्गत ट्रफीलाई कोहलपुर चौराह, कोहलपुरको क्रिकेट मैदान, नेपालगञ्जको वागेश्वरी मन्दिर, मङ्गलप्रसाद मावि र नेपालगञ्ज रङ्गशालासम्म पुर्‍याइएको थियो।

    कोहलपुर चौराहामा आयोजित विशेष कार्यक्रममा कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता पौडेल, नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय छनोट समितिका सदस्य तथा पूर्व कप्तान लेखबहादुर क्षेत्री, र नेपाली महिला क्रिकेट टिमकी पूर्व उपकप्तान ममता थापाले संयुक्त रूपमा ट्रफीलाई स्वागत गर्नुभयो।

    पूर्व उपकप्तान ममता थापाले भन्नुभयो,“ट्रफी टुर नेपाली खेलकुद इतिहासमा पहिलोपटक गरिएको महत्वपूर्ण प्रयास हो। विश्वकप ट्रफीहरू जस्तै यसरी नै नेपाल प्रिमियर लिगको ट्रफी जनस्तरसम्म पुर्‍याउनुले क्रिकेटको लोकप्रियता बढाउनेछ। नेपाल विश्वकपमा छनोट भइसकेको सन्दर्भमा यस्तो अभियानले नयाँ ऊर्जा थपेको छ।”

     

    उपमेयर सङ्गीता पौडेलले खेलकुदमा स्थानीय तहको निरन्तर समर्थन रहने बताउँदै भन्नुभयो,“यस्ता कार्यक्रमहरूले खेलाडीहरूमा मात्र होइन, युवापुस्तामा पनि सकारात्मक सन्देश दिन्छ। कोहलपुर नगर खेलमैत्री नगरका रूपमा अघि बढ्दैछ, र हामी यसलाई अझ सशक्त बनाउनेछौँ।”
    त्यसैगरी, पूर्व कप्तान लेखबहादुर क्षेत्रीले भन्नुभयो“एनपीएलजस्ता प्रतिस्पर्धाले नेपाली क्रिकेटलाई नयाँ व्यावसायिक युगमा पुर्‍याएका छन्। ट्रफी टुरले खेलप्रेमीहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गरेर राष्ट्रिय टिमप्रतिको समर्थनलाई अझ बलियो बनाएको छ।”टिमका मेन्टर शक्ति गौचनका अनुसार, विभिन्न स्थानमा नागरिक र क्रिकेटप्रेमीहरूले ट्रफी टुरलाई भव्य स्वागत गरेका थिए।
    एनपीएलको दोस्रो संस्करण सुरु हुनुअघि गरिएको यो ट्रफी टुरले प्रतियोगिताप्रतिको उत्सुकता र जनचासो उल्लेखनीय रूपमा बढाएको बताइन्छ।

    नेपाली पुरुष राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले यसपटक उपाधि जित्ने लक्ष्यसहित तयारी तीव्र पारेको छ।
    एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि सुरु हुँदैछ।
    लुम्बिनी लायन्सको सक्रियतामा लुम्बिनी प्रदेशका २८ स्थानमा ट्रफी टुर सम्पन्न गरिएको हो।

     

     

  • १९ कार्तिक २०८२, मंगलवार २२:१७ प्रकाशित

  • Nabintech