जुम्लामा विश्वराज खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन, मौलिक लोकसंगीत संरक्षणमा जोड

  • नमस्ते कर्णाली

  • २३, कार्तिक २०८२
    जुम्ला ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्ला शाखाको चौथो जिल्ला अधिवेशनले विश्वराज खत्रीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ। शनिबार सम्पन्न अधिवेशनबाट खत्रीको नेतृत्वमा नयाँ २२ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

    लामो समयदेखि लोक तथा दोहोरी गीत क्षेत्रमा सक्रिय रहँदै आएका खत्री प्रतिष्ठानको सुरुवाती चरणदेखि नै आवद्ध रहँदै आएका हुन्। उनले जुम्लामा सांगीतिक क्रियाकलाप सुदृढ पार्दै नयाँ पुस्तालाई लोकसंगीतप्रति आकर्षित गराउने अभियान चलाउँदै आएका छन्।

    अध्यक्षमा चयन भएपछि खत्रीले जुम्लाको मौलिक संस्कृति, लोकभाषा र परम्परागत संगीतको संरक्षण तथा प्रवर्द्धनलाई आफ्नो पहिलो जिम्मेवारीका रूपमा लिने बताएका छन्।
    “जुम्ला र कर्णालीको मौलिक दोहोरी संस्कृति राष्ट्रिय पहिचानको अभिन्न हिस्सा हो। यसलाई व्यावसायिक र सशक्त संस्थागत रूप दिन हामी सबै एकजुट भएर लाग्नेछौँ,” उनले भने।

    उनले प्रतिष्ठानमार्फत जिल्लाभर रहेका लोक कलाकारको दर्ता, प्रशिक्षण र प्रतिस्पर्धामूलक कार्यक्रम सञ्चालन गरी नयाँ प्रतिभा पहिचान गर्ने योजना अघि सारे। “स्थानीय स्तरमै सिर्जना हुने मौलिक गीत–संगीतलाई संरक्षण गर्न नसके यो अमूल्य परम्परा हराउने खतरा छ। त्यसैले प्रतिष्ठान अब अभिलेख, अध्ययन र प्रमाणीकरणमा पनि सक्रिय हुने छ,” उनले जोड दिए।

    अधिवेशनबाट चयन गरिएको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा पञ्चकली बुढा, खुला उपाध्यक्षमा उमेश परियार, द्वितीय उपाध्यक्षमा मनोज अधिकारी, सचिवमा एकराज अधिकारी, सह–सचिवमा मदन महत र कोषाध्यक्षमा देवकी खत्री रहेका छन्। त्यस्तै विभिन्न क्षेत्र र वडाबाट प्रतिनिधित्व गर्ने सदस्यहरू पनि कार्यसमितिमा समावेश गरिएको छ।

    कार्यक्रममा वक्ताहरूले कर्णाली प्रदेशमा लोक तथा दोहोरी गीतको ऐतिहासिक र सांस्कृतिक महत्वबारे प्रकाश पारे। उनीहरूले राष्ट्रिय एकताको स्रोतका रूपमा लोकसंगीतले खेलेको भूमिकाको प्रशंसा गर्दै जुम्लाको सांगीतिक चेतना र सक्रियता अन्य जिल्लाका लागि उदाहरणीय रहेको बताए।

    अधिवेशनमा स्थानीय कलाकार, संगीतप्रेमी र प्रतिष्ठानका पूर्वपदाधिकारीहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रमको समापनसँगै नयाँ नेतृत्वले आगामी वर्षका लागि कार्ययोजना निर्माण सुरु गरेको जनाएको छ।

  • २४ कार्तिक २०८२, आईतवार ०७:१३ प्रकाशित

  • Nabintech