२७, कार्तिक २०८२
बाँके। जिल्ला निर्वाचन कार्यालय बाँके परिसर यतिबेला विहानैदेखि चहलपहलले भरिएको छ। बिहान नौ बजेदेखि नै हातमा नागरिकता र फारम बोकेका युवायुवतीहरूको लामो लाइन कार्यालयको गेटदेखि सडकसम्म फैलिएको देखिन्छ। कोही आफ्नो जन्ममिति मिलाउन आएका छन् भने कोही नयाँ नाम दर्ता गर्न साईकल चढेर टाढाबाट आइपुगेका छन्। सबैको अनुहारमा एउटै भावना झल्किन्छ — पहिलो पटक मतदान गर्ने उत्साह।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै असोज १० गतेदेखि कार्तिक मसान्तसम्म मतदाता नामावली दर्ता अभियान सञ्चालन गरेको छ। यही अभियानले बाँकेमा नयाँ मतदाता बन्ने लहर चलाएको छ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार पछिल्ला केही सातादेखि दैनिक तीन सयभन्दा बढी नागरिक नाम दर्ताका लागि कार्यालय आइरहेका छन्। “कहिलेकाहीँ त पाँच सयभन्दा बढी पनि दर्ता गराउन आउँछन्,” उहाँले बताउनुभयो।
कार्यालयका तथ्यांक अनुसार कार्तिक २१ गतेसम्म मात्रै ५ हजार २२९ जना नयाँ मतदाता थपिएका छन्। तीमध्ये २ हजार ६०६ जना पुरुष र २ हजार ६२३ जना महिला रहेका छन्। उल्लेखनीय कुरा के छ भने, नयाँ मतदातामध्ये धेरैजसो १८ देखि २५ वर्ष उमेर समूहका युवा छन्, जसले पहिलो पटक लोकतान्त्रिक अभ्यासमा सहभागी हुने तयारी गरिरहेका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँकेमा कुल ३ लाख ३३ हजार ९३४ मतदाता रहेका थिए। तीमध्ये १ लाख ६९ हजार ८७६ पुरुष, १ लाख ६४ हजार ४९ महिला र ९ अन्य समावेश थिए। नयाँ मतदाता दर्ताको यो लहरले बाँकेमा आगामी निर्वाचनमा युवाको सहभागिता झनै उल्लेखनीय हुने संकेत देखाएको छ।










