बाँकेका विद्यालयहरूमा विद्युत दुर्घटना सचेतना कार्यक्रम गरिने

  • नमस्ते कर्णाली

  • २७, कार्तिक २०८२

    बाँके । बाँकको ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्युत दुर्घटनाबारे सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ।
    गाउँघरमा विद्युत प्रयोगका क्रममा अज्ञानता र असावधानीका कारण बढ्दो दुर्घटना जोखिमलाई ध्यानमा राख्दै आगामी मंसिर ७ गतेदेखि विद्यालयस्तरमा कार्यक्रम शुरु गर्न लागिएको नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिनुभयो।
    उहाँका अनुसार, पर्याप्त ज्ञानको अभावले विद्युतजन्य दुर्घटना हुने गरेको पाइएकाले विद्यालयस्तरमै सञ्चालन हुने कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीलाई विद्युत जोखिम र त्यसको न्यूनिकरणका उपायबारे जानकारी प्रदान गर्नेछ।
    नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रको आयोजनामा बाँकेका आठै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि विद्यालयहरूलाई वितरण केन्द्रको समन्वयमा सम्पर्क गर्न अनुरोध गरिएको वितरण केन्द्रका लेखा अधिकृत बुद्धि सागर भुषालले बताउनुभो।
    कार्यक्रममार्फत सहभागीहरूलाई विद्युतिय सुरक्षा, सम्भावित जोखिमका कारण, दुर्घटनापछि गर्नुपर्ने प्राथमिक उपचार, उपकरणको सुरक्षित प्रयोग तथा ऊर्जा खपतका उपायबारे प्रशिक्षण दिइनेछ।
    नो लाइट शाखाका प्रमुख विष्णु खत्रीले ग्रामीण क्षेत्रमा यस्ता सचेतनामूलक कार्यक्रम न्यून हुने गरेको उल्लेख गर्दै यसले विद्युत दुर्घटना घटाउन सहयोग पुर्याउने बताउनुभयो। उहाँका अनुसार, यो कार्यक्रमले विद्युत चुहावट नियन्त्रण र सम्भावित दुर्घटना न्यूनीकरणमा पनि योगदान पुर्याउनेछ।
    वितरण केन्द्रका अनुसार, निकट भविष्यमा नरैनापुरमा विद्युत सवस्टेशन निर्माण हुने र जानकी गाउँपालिकामा १३२ केभीए प्रशारण लाइन निर्माण भइरहेकाले बाँकेका विद्यालयहरूमा सचेतना कार्यक्रमलाई निरन्तरता दिइनेछ।

     

  • २८ कार्तिक २०८२, बिहीबार १०:३६ प्रकाशित

  • Nabintech