२७, कार्तिक २०८२
सुर्खेत । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुर्खेतमा नयाँ मतदाता दर्ताको काम तीव्र गतिमा भइरहेको छ । निर्वाचन आयोग नेपालको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका अनुसार १० असोजदेखि २५ कार्तिकसम्म जिल्लाभर एक हजार आठ सय १७ जना नयाँ मतदाता थपिएका छन् ।
नयाँ थपिएका मतदातामध्ये पुरुषको संख्या बढी रहेको छ । निमित्त प्रदेश निर्वाचन अधिकारी नन्दराम चौलागाईका अनुसार हालसम्म एक हजार एक सय ३९ पुरुष र ६ सय ७८ महिलाले फोटोसहितको मतदाता परिचयपत्र बनाएका छन् । “दर्ता गर्ने समय अझै पाँच दिन बाँकी भएकाले यो संख्या अझ बढ्ने अनुमान छ,” चौलागाईले बताए ।
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली दर्ता आगामी कार्तिक ३० गतेसम्म गर्ने व्यवस्था गरेको छ । २०८१ बैशाखसम्मको अद्यावधिक विवरणअनुसार सुर्खेतमा दुई लाख ४४ हजार ६ सय ७६ जना मतदाता रहेका छन्, जसमा एक लाख १९ हजार ३८९ पुरुष र एक लाख २५ हजार २८७ महिला छन् ।
दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक सय ३९ मतदान स्थल र दुई सय ९३ मतदान केन्द्र तोकिएका छन् । आवश्यकताअनुसार मतदान केन्द्र थपघट गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ । चौलागाईका अनुसार २० फागुन २०८२ सम्म १८ वर्ष पूरा हुने र नेपाली नागरिकता प्राप्त गरेका नागरिकले मात्र आगामी निर्वाचनमा भाग लिन पाउने छन् ।
“२० फागुनसम्म १८ वर्ष नपुगेका नागरिकले यसपालि मतदान गर्न पाउने छैनन्,” उनले भने, “तर निर्वाचनपछि उनीहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन्।”
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारद्वारा आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेसँगै देशभर मतदाता अद्यावधिक र नयाँ दर्ता अभियान सुरु भएको हो । कार्की नेतृत्वको सरकारले निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेपछि १० असोजदेखि मतदाता दर्ता कार्य प्रारम्भ गरिएको थियो ।
राजनीतिक दलहरूबीच चुनावी वातावरण अझै स्पष्ट नभएको दाबी भइरहे पनि आयोगले भने देशभर तयारीलाई तीव्र बनाइरहेको छ । २३ भदौको जेन–जी आन्दोलनपश्चात बनेको कार्की नेतृत्वको सरकारले ताजा जनादेशसहित नयाँ प्रतिनिधिसभा निर्वाचन गराउने म्यान्डेट पाएको छ ।
प्रहरीको सुरक्षा तयारी : संयुक्त गस्ती सुरु
आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुरक्षा व्यवस्था कडा पारेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको संयुक्त समन्वयमा जिल्लाका नौवटै स्थानीय तहमा सुरक्षा गस्ती सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले लामो तथा छोटो दुरीका संयुक्त गस्ती सञ्चालन गरिएको बताए । उनका अनुसार मतदान स्थलका साथै संवेदनशील क्षेत्रहरूमा नियमित निगरानी, सचेतनामूलक कार्यक्रम र सुरक्षासम्बन्धी निरीक्षण भइरहेको छ ।
“हाम्रो प्राथमिकता शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित निर्वाचन हो,” बुढथापाले भने, “हालसम्म कुनै समूहबाट निर्वाचनमा बाधा पुर्याउने खालका गतिविधि देखिएका छैनन्।”
१७ देखि २३ कार्तिकसम्म प्रहरी नायब निरीक्षक बलप्रसाद पाण्डेको नेतृत्वमा खटिएको टोलीले वीरेन्द्रनगरका विभिन्न वडादेखि चिङ्गाड गाउँपालिकासम्मका क्षेत्रमा गस्ती गरिसकेको छ ।
सुरक्षासँगै मतदाता दर्ता, अद्यावधिक र तयारीका गतिविधि तीव्र बनेका सुर्खेतमा निर्वाचनको माहोल क्रमशः तात्दै गएको छ ।










