२८, कार्तिक २०८२
बाँके । बाँकेको इलाका प्रशासन कार्यालय कोहलपुरले सेवा प्रवाहलाई सहज, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ। कार्यालयले बुधबार एक सूचना जारी गर्दै अबदेखि सेवाग्राहीहरूले टोकन लिएर आफ्नो पालोअनुसार सेवा लिनुपर्ने जनाएको हो।
कार्यालय प्रमुख अन्तिम सिंजालीका अनुसार सेवाग्राहीहरूको अत्यधिक चापका कारण काममा ढिलाइ हुने र लाइनमा लामो समय कुर्नुपर्ने समस्या समाधान गर्न यो प्रणाली लागू गरिएको हो।
“हाम्रो उद्देश्य सेवाग्राहीलाई छिटो र सहज सेवा दिनु हो,” प्रमुख सिंजालीले भन्नुभयो, “विशेषगरी नयाँ नागरिकता वितरण र प्रतिलिपि नागरिकताको सेवामा अत्यधिक भीड हुने भएकाले टोकन प्रणालीले त्यसलाई व्यवस्थित गर्नेछ।”
कार्यालयले जारी गरेको सूचनाअनुसार बिहान १० बजेदेखि टोकनका लागि नाम टिपाउन सकिने छ, र त्यसको आधारमा सेवाग्राहीलाई आ–आफ्नो पालोमा सेवा प्रदान गरिनेछ।
यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेले पनि विद्युतीय टोकन प्रणाली लागू गरिसकेको छ। उक्त प्रणालीले नागरिकता, प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्र शाखामा सेवाग्राहीको भीड घटाउन उल्लेखनीय सहयोग पुर्याएको कार्यालयको भनाइ छ।
त्यस्तै, पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको असहजतालाई ध्यानमा राखी सम्पूर्ण सेवा एउटै भवनबाट सञ्चालन भइरहेको कार्यालयले जनाएको छ। यही व्यवस्थाको निरन्तरता स्वरूप इलाका प्रशासन कार्यालय कोहलपुरले पनि टोकन प्रणाली लागू गरेको हो।
प्रमुख सिंजालीका अनुसार, “अब सेवाग्राहीले लाइनमा उभिनुपर्ने झन्झट हट्नेछ र सेवा प्रणाली थप पारदर्शी र व्यवस्थित बन्नेछ।”
यो प्रणालीले प्रशासनिक सेवा प्रवाहलाई डिजिटल र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।










