९ मंसिर २०८२
बाँके ।बाँकेको अति दुर्गम क्षेत्रका रूपमा परिचित नरैनापुरस्थित महेन्द्र माध्यमिक विद्यालयमा आइतबार विद्युत् दुर्घटना न्यूनीकरण तथा सुरक्षा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रको पहलमा सञ्चालन गरिएको यस कार्यक्रममा विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीको सक्रिय सहभागिताले यस अभियानलाई अझ प्रभावकारी बनाएको आयोजकहरूको भनाइ रहेको छ। दुर्गम क्षेत्रमा हाल विद्युत् दुर्घटनाका घटना बढ्दै गएकाले सुरक्षा सचेतनामा आधारित कार्यक्रमले समुदायलाई दीर्घकालीन रूपमा लाभान्वित गर्ने विश्वास लिइएको छ।
नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले कार्यक्रमको प्रमुख सहजीकरण गर्दै विद्युत् उपयोगका क्रममा अपनाउनुपर्ने सावधानी, आकस्मिक अवस्थामा गर्नुपर्ने प्राथमिक उपचार तथा जोखिम व्यवस्थापनका विषयमा विस्तृत रूपमा प्रशिक्षण दिनुभयो। उहाँका अनुसार विद्युत् सेवा दैनिक जीवनको आवश्यक र अपरिहार्य भाग भएकाले यसको प्रयोगमा सानो लापरबाहीले पनि गम्भीर दुर्घटना निम्त्याउने सम्भावना हुन्छ।
“विद्युत् भान्सा, उद्योग, उज्यालो वा आधुनिक प्रविधि—जताततै आवश्यक पर्दछ। तर यसको संवेदनशीलता बुझ्न र सावधानी अपनाउन नसकिँदा दुर्घटनाको जोखिम निकै बढ्छ,” प्रमुख लामिछानेले कार्यक्रमका सहभागी विद्यार्थीलाई सचेत गराउँदै सम्झाउनुभयो। उहाँले हाल मुलुकभर विद्युत् दुर्घटनाका घटनामा वृद्धिदेखिएको उल्लेख गर्दै यसलाई प्राधिकरणको मात्र नभई सबैको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रमका अर्को सहजीकरणकर्ता तथा प्रशासन शाखा प्रमुख लक्ष्मीप्रसाद उपाध्यायले विद्यार्थीहरूलाई खुला तारबाट टाढा रहने, भिजेको हातले स्विच नछुने, मर्मतको काम अघि मुख्य स्विच बन्द गर्ने, सर्ट भएमा छुन नजानेजस्ता महत्त्वपूर्ण सावधानीका बुँदाहरू विस्तृत रूपमा अवगत गराए। “सामान्य बेवास्ता वा जिज्ञासाबाट पनि ठूलो दुर्घटना हुन सक्छ, त्यसैले सतर्कता नै प्रमुख सुरक्षा हो,” उहाँले सम्झाउनुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विद्युत् सुरक्षा सम्बन्धी विविध जिज्ञासाहरू राखेका थिए। विद्यालय प्रशासनले दुर्गम क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी गरिएको यो कार्यक्रम अत्यन्त प्रभावकारी भएको प्रतिक्रिया दिए। विद्यालयका शिक्षकहरूले आगामी दिनमा अझ प्राविधिक र व्यावहारिक प्रकृतिका तालिमसमेत सञ्चालन गर्न सुझाव दिए।
नेपाल विद्युत् प्राधिकरण नेपालगञ्जका लेखा अधिकृत बुद्धिसागर भुषालले पनि विद्युत् कार्यको संवेदनशीलता र जोखिमबारे विद्यार्थीलाई सचेत गराउँदै हालै बाँकेमा विद्युत मर्मतका क्रममा घाइते भएका कर्मचारीको घटना उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। “सानो त्रुटि वा लापरबाहीले पनि ज्यान जाने अवस्था बारम्बार दोहोरिनुले सबैले उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिन्छ,” भुषालले जानकारी दिनुभयो। खुला तार, अव्यवस्थित लाइन, प्राविधिक गडबडी, कमजोर समन्वयलगायतका कारण वर्षेनी सयौँ मानिस र चौपायाको मृत्यु हुने, ठूलो धनमाल नष्ट हुने र सामाजिक संकट उत्पन्न हुने गरेको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूको साझा धारणा थियो—विद्युत् शक्तिको उपयोग आधुनिक जीवनका लागि अपरिहार्य भए पनि सावधानी बिना यसको प्रयोग अत्यन्त जोखिमपूर्ण छ। त्यसैले सेवा प्रवाह गर्ने कर्मचारीदेखि घर–घरमा विद्युत् प्रयोग गर्ने सर्वसाधारणसम्म सबैले सुरक्षा मापदण्ड पालना गर्न आवश्यक छ। साथै, ‘विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७’ मा तोकिएको क्षतिपूर्ति रकम समयानुकूल नपुगेको भन्दै यसको पुनरावलोकनका लागि विद्यालयका शिक्षकहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
यसैबीच, नेपाल विद्युत् प्राधिकरण नेपालगञ्जले आइतबारदेखि सुरु गरेको विद्युत् सुरक्षा सचेतना अभियान मंसिर १३ गतेसम्म चल्ने जानकारी नो लाइट शाखाका प्रमुख विष्णु खत्रीले दिनुभयो। उहाँका अनुसार बाँकेका अन्य विद्यालय तथा समुदायमै पनि यस्तो कार्यक्रम विस्तार गर्दै जान प्राधिकरणले योजना बनाइरहेको छ।
दुर्गम क्षेत्रका विद्यार्थीलाई लक्षित गरी गरिएको यस कार्यक्रमले व्यवहारिक सिकाइसँगै जोखिमबारे अवगत गराउँदै सम्भावित दुर्घटनाबाट बच्ने क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको विद्यालय प्रशासनको भनाइ छ। यस्तो कार्यक्रम निरन्तर सञ्चालन गर्न सकिएमा दुर्गम क्षेत्रका जनतामा विद्युत् सुरक्षा संस्कार स्थापना हुने, दुर्घटनाको दर घट्ने र समग्र क्षेत्रमा सुरक्षित विद्युत् सेवा प्रवाहमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।










