नेपालगन्जमा सडक पेटी मुक्त अभियान सुरु, अवैध संरचना हटाइँदै

  • नमस्ते कर्णाली

  • १२, मंसिर २०८२
    बाँके ।नेपालगन्ज उपमहानगरपालिकाले सडक पेटी कब्जा गरी बनाइएका अवैध संरचना हटाउने अभियान सुरू गरेको छ। प्रारम्भिक चरणमा वीपी चोकदेखि धम्बोझी चोकसम्म रोड छेउ–छाउमा अनाधिकृत रूपमा निर्माण गरिएका संरचना डोजरमार्फत हटाइँदै छन्।

    उपमहानगरपालिकाले पटक–पटक सार्वजनिक सूचना जारी गरेर चेतावनी दिए पनि अवैध संरचना नहटाएपछि प्रशासन र सुरक्षाकर्मीको उपस्थितिमा बलपूर्वक हटाउने कार्य सुरू गरिएको हो।

    नगर प्रमुख  विष्टले सुर्खेत रोडको पश्चिमतर्फ नालादेखि करिब ७ फिट क्षेत्र पूर्ण रूपमा ‘फुटपाथ क्लियर’ गरि ग्रीनरी विकास तथा अपाङ्गमैत्री बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो। यसका लागि ठेकेदारसँग आवश्यक सम्झौता भइसकेको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताउनुभयो।

    विष्टका अनुसार पहिलो चरणको काम सकेपछि क्रमशः धम्बोझी चोकदेखि पुष्पलाल चोकसम्म र गणेशमान चोकदेखि वीपी चोकसम्मका सडक पेटी पनि सफा र व्यवस्थित बनाइने छ।

    अभियानलाई सहयोग गर्न नेपाल प्रहरी र नगर प्रहरीले सघाइरहेका छन्। उपमहानगरपालिकाले यो अभियानले शहरलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ।

  • १३ मंसिर २०८२, शुक्रबार ०७:३८ प्रकाशित

  • Nabintech