हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

  • नमस्ते कर्णाली

  • १२, मंसिर २०८२

    डाँडाफयाका स्थानीय बाँच सुनारले बेलुकादेखि पानीका धारा खुला राखेपनि चिसो अत्यधिक हुँदा बिहान बरफ जमेको हुने बताउनुभयो । “घाम नलाग्दासम्म धारामा पानी नआउने समस्या छ । यस्तै जम्मा गरेर राखेका भाँडाका पानी पनि बरफ हुन थालेको हो”, उहाँले भन्नुभयो ।

    उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, लिमी, यारीलगायत क्षेत्रमा रातिको समयमा अत्यधिक चिसो हुने भएकाले बिहानको समयमा बरफ जम्न थालेको स्थानीय बताउँछन् । बोतल, बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुने गरेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताउनुभयो । यहाँको तापक्रम माइनसमा झरेको उहाँले जानकारी दिनुभयो ।

    यतिबेला बिहानबेलुका र रातिको समयमा लिमीको तापक्रम माइनस दश डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम माइनसमा झरेपछि नागरिकले हिमपात नहुँदै यस वर्ष बढी चिसो महसुस हुन थालेको स्थानीय कुञ्चोक लामाले बताउनुभयो । विगतका वर्षभन्दा यस वर्ष यहाँ चिसो अत्यधिक महसुस गरिएको उहाँको भनाइ छ ।

    चिसोका कारण घाम नलाग्दासम्म वृद्धवृद्धा, बालबालिकालाई घर बाहिर निस्कन समस्या हुने गरेको छ । कात्तिक दोस्रो साताअघि लिमीलगायत उच्च क्षेत्रमा रहेका प्रहरी चौकी जिल्ला सदरमुकामतिर फिर्ता भइसकेका छन् । पुस र माघ दुई महिना हुम्लामा अत्यधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ ।

  • १३ मंसिर २०८२, शुक्रबार ०७:४२ प्रकाशित

  • Nabintech