नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि देशभर प्रतिनिधि छनौट प्रक्रियासँगै कर्णाली प्रदेशमा पनि प्रतिनिधि चयन अन्तिम चरणमा पुगेको छ। प्रदेशका १० जिल्लामध्ये ९ जिल्लामा सर्वसम्मतमार्फत प्रतिनिधि चयन भए पनि रुकुमपश्चिममा भने आन्तरिक विवादका कारण निर्वाचनमार्फत प्रतिनिधि टुंगो लगाइएको हो। कर्णाली प्रदेशमा ४७ हजारभन्दा बढी संगठित सदस्य रहेको र सो आधारमा ११३ जना प्रतिनिधि चयन भएको एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले जानकारी दिए।
९ जिल्लामा सर्वसम्मत, रुकुमपश्चिममा निर्वाचन
अध्यक्ष शाहका अनुसार हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दैलेख, सुर्खेत, जाजरकोट र सल्यानमा प्रतिनिधि सर्वसम्मत चयन गरिएका छन्। रुकुमपश्चिममा भने पार्टीभित्रको स्थानीय विवादका कारण मतदानबाट प्रतिनिधि छनौट गरिएको हो।
दुई हजार ५४ संगठित सदस्य रहेको रुकुमपश्चिममा खुला, महिला, युवा र दलिततर्फबाट प्रतिस्पर्धामार्फत प्रतिनिधि चयन गरियो। खुलातर्फ नन्दाराम देवकोटा र दिनेश चन्द, महिलामा हिमकुमारी केसी र कौशिला केसी, युवातर्फ प्रकाश खड्का र दलिततर्फ शशिराम परियार निर्वाचित भए।
महिला प्रतिनिधि तर्फ प्रतिस्पर्धा गरेकी प्रदेशसभा सदस्य तुलसा मल्ल भने पराजित भइन्। कौशिलाले २०४, हिमकुमारीले २०३ मत ल्याउँदा मल्लले १११ मत प्राप्त गरेकी थिइन्। मतदानमा धाँधली भएको आरोप लगाउँदै मल्लले सामाजिक सञ्जालमार्फत असन्तुष्टि प्रकट गरेकी छन्।
जाजरकोट, कालीकोट, जुम्ला, सल्यानलगायतमा सर्वसम्मत
जाजरकोटमा १२ जना, कालीकोटमा ८ जना, जुम्लामा ६ जना तथा सल्यानमा ८ जना प्रतिनिधि सर्वसम्मत चयन गरिएको छ। जाजरकोटबाट चयनित सबै प्रतिनिधि संस्थापन पक्ष (ओली समूह) का रहेको स्थानीय नेतृत्वले जनाएको छ।
कालीकोटमा पनि सबै ८ प्रतिनिधि सर्वसम्मत चयन गरिएका छन्, जहाँ प्रमुख प्रतिनिधिहरू एमाले अध्यक्ष ओली निकट देखिएका छन्।
सुर्खेत–२ मा ९ प्रतिनिधि चयन, सुर्खेत–१मा छलफल जारी
सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् भने निर्वाचन क्षेत्र नं. १ मा भने छलफल जारी छ। आइतबार बिहान बैठक बस्ने कार्यक्रम तय भएको उपाध्यक्ष मोहनसिंह बडुवालले जनाएका छन्।
डोल्पामा अध्यक्ष रोकाया युवातर्फबाट प्रतिनिधि
डोल्पामा ८ जना प्रतिनिधि सर्वसम्मतरूपमा चयन गरिएका छन्। जिल्लाका अध्यक्ष लंकबहादुर रोकाया युवा कोटाबाट प्रतिनिधि बनेका छन्। सबै प्रतिनिधि संस्थापन पक्षका रहेको डोल्पा नेतृत्वको दाबी छ।
महाधिवेशनको लोगो सार्वजनिक
एमालेको ११औँ महाधिवेशनको लोगो प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित पार्टी कार्यालयमा सार्वजनिक गरेका छन्। लोगोमा राष्ट्रिय झन्डादेखि धरहरा, पाँचतल्ले दरबार र पार्टीको चुनाव चिन्हसम्मलाई कलात्मक रूपमा संयोजन गरिएको छ। महाधिवेशनको जिङ्गल पनि सार्वजनिक गरिएको छ।
कर्णालीबाट सचिवमा बोगटीको आकांक्षा
महाधिवेशनमा कर्णाली प्रदेशबाट हुम्लाका गोरखबहादुर बोगटी सचिव पदका आकांक्षी बनेका छन्। बोगटी हाल स्थायी कमिटी सदस्य हुन् र कर्णालीका अधिकांश प्रतिनिधि ओली समूहका भएकाले उनी बलियो दाबेदार मानिएका छन्।
यस्तै, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल पनि पदाधिकारीको दाबेदारीमा रहेका छन्। सुर्खेतका उपाध्यक्ष बडुवालका अनुसार कर्णालीमा “एउटै नेतृत्व — केन्द्रमा ओली, प्रदेशमा कँडेल” रहेको दाबी गरिएको छ।
कर्णाली प्रदेशमा प्रतिनिधि छनौटको प्रक्रिया लगभग टुंगिंदै जाँदा अधिकांश जिल्लामा संस्थापन पक्षको प्रभाव स्पष्ट देखिएको एमाले नेताहरूको बुझाइ छ। ११औँ राष्ट्रिय महाधिवेशनले पार्टीको आगामी नेतृत्व निर्वाचित गर्ने भएकाले कर्णालीबाट चयन भएका प्रतिनिधिहरू पनि निर्णायक ठहरिनेछन्।










