बासगढीमा ‘कपडा बैंक’ स्थापना, ७ सयभन्दा बढीलाई न्यानो कपडा वितरण

  • नमस्ते कर्णाली

  • १७, मंसिर २०८२
    बाँके ।बर्दियाको बासगढी नगरपालिकामा ‘कपडा बैंक’ स्थापना गरिएको छ। बासगढी नगरपालिका र क्लोथ एण्ड फुड बैंक नेपालबीचको सहकार्यमा सुरु गरिएको यो सामाजिक अभियानले मंगलबार वडा नं. ४, ५ र ६ का ७ सयभन्दा बढी स्थानीयलाई न्यानो कपडा वितरण गरेको छ।

    कपडा बैंकका परिकल्पनाकार तथा अध्यक्ष कमल जिसीका अनुसार “आफ्नो घर–टोल र समाज सफा राखौँ, कोही कपडाविहीन नरहोस्” भन्ने उद्देश्यसहित देशभरका स्थानीय तहसँगको सहकार्यमा कपडा बैंक विस्तार भइरहेको छ। उहाँका अनुसार हालसम्म देशभरका ९८ वटा पालिकामा कपडा बैंक स्थापनासँगै नियमित सञ्चालनमा छन्।


    जिसीले पुनःप्रयोगलाई प्रोत्साहन गर्न ‘पुनःप्रयोग महाअभियान’ अघि बढाइएको बताउँदै यसले देशको धुकुटी जोगाउने र सफाइ अभियानमा ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। हुनेले दान गर्ने र नहुनेले निशुल्क लैजान पाउने प्रणालीअनुसार कपडा बैंक सञ्चालन गरिन थालेको पनि उहाँले बताउनुभयो। सङ्कलित कपडाहरूलाई आवश्यक रूपमा प्रशोधन गरेर पुनःप्रयोग गरिने उहाँले जानकारी दिनुभयो।

    बासगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले पालिकाले सामाजिक क्षेत्रमा निरन्तर रूपमा सक्रिय भूमिका खेल्दै आएको उल्लेख गर्दै क्लोथ एण्ड फुड बैंकसँगको सहकार्यमा कपडा बैंक सञ्चालनको थालनी महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो। उहाँले आवश्यकता र मागअनुसार कपडाको नियमित वितरण गरिने र निकट भविष्यमा फुड बैंक पनि सञ्चालनमा ल्याइने जानकारी दिनुभयो।

    कार्यक्रममा उपप्रमुख इन्दिरा चौधरी, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय उद्योगी–व्यवसायी तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।

     

  • १८ मंसिर २०८२, बुधबार ०८:०५ प्रकाशित

  • Nabintech