सिकलसेल पीडितका लागि सरकारको वर्षेनि ३ लाख सहयोग : उपचार सहज बनेपछि हजारौँ बिरामीको जीवनमा नयाँ आशा

  • नमस्ते कर्णाली

  • १८ मंसिर २०८२
    बाँके ।बाँके राप्तीसोनारीकी कृष्टि थारु अहिले सन्तोषित देखिन्छिन् । पाँच वर्षअघिसम्म सिकलसेल एनिमिया जस्तो दीर्घरोगसँग लड्दै उनले औषधिका लागि मात्र हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने कठोर अवस्था भोगेकी थिइन् । आर्थिक अभाव र निरन्तर बढ्दो उपचार खर्चका कारण परिवारमा ठूलो दबाब थियो । तर सरकारद्वारा सिकलसेल एनिमियाका बिरामीलाई वर्षमा ३ लाख रुपैयाँ उपचार सहायता उपलब्ध गराउने निर्णयले कृष्टिसहित हजारौँ पीडितको जीवन सहज बन्दै गएको छ ।

    कृष्टि भन्छिन्, “पहिले विपन्न नागरिक उपचार कोषबाट १ लाख मात्र पाइन्थ्यो । पछि २ लाख बनाइयो । अहिले सामाजिक सुरक्षा कोषबाट थप १ लाख उपलब्ध भएपछि वर्षभरको औषधि खर्च धान्न सकिने भयो । यो हामीजस्ता बिरामीका लागि ठूलो राहत हो ।”

    पहिले राज्यबाट प्राप्त रकम सकिएपछि आफ्नै खर्चमा औषधि किन्नुपर्ने बाध्यता थियो । तर नीतिमा आएको परिवर्तनले अब नियमित उपचारप्रति चिन्ता हट्दै गएको छ ।

    बर्दियाको बढैयाताल–४ का भोला सिंह थारुले पनि यस्तै पीडा झेलेका थिए । उहाँ सम्झनुहुन्छ, “औषधि महँगो भएकाले राज्यले दिएको एक लाख छिट्टै सकिन्थ्यो । कहिलेकाहीँ औषधि खान नसक्दा स्वास्थ्य झन् बिग्रँदै जान्थ्यो । तर अहिले निःशुल्क औषधि र परामर्श पाएपछि जीवन फेरिएको छ ।”

    कृष्टि र भोला मात्र होइन, यसैगरी देशभर रहेका हजारौँ सिकलसेल पीडितमा अहिले राहत, आत्मविश्वास र उपचारप्रतिको पहुँच बढेको छ ।

     

    एक दशकमै महत्वपूर्ण प्रगति

    भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ सह–प्रा. डा. राजन पाण्डेका अनुसार नेपालमा सिकलसेल एनिमिया उपचार प्रणालीले पछिल्ला वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । थारू समुदायमा करिब ११ प्रतिशत व्यक्तिमा देखिने यो वंशाणुगत रोग लामो समयसम्म स्वास्थ्य प्रणालीमा उपेक्षित रहेको थियो ।

    २०७३ सालअघि सिकलसेल परीक्षणका लागि रगत भारत पठाउनुपर्थ्यो । एक परीक्षण गर्न २ हजारदेखि २५ सय रुपैयाँ लाग्थ्यो र रिपोर्ट आउन साता दिनसम्म लाग्थ्यो । आर्थिक रूपमा कमजोर समुदायका लागि यो ठूलो चुनौती थियो ।

    २०६८ सालदेखि डा. पाण्डेले यस रोगलाई राष्ट्रिय मुद्दा बनाउँदै उठान गरेपछि मिडिया, नागरिक समाज र जनप्रतिनिधिको दबाब बढ्यो । २०७१ पछि मात्र सरकारले सिकलसेल एनिमियालाई औपचारिक स्वास्थ्य चुनौतीका रूपमा स्वीकार्यो र त्यसपछि परीक्षण तथा उपचार सेवामा तीव्र गतिमा सुधार भएको छ ।

     

    देशभित्रै आधुनिक उपचार सेवा विस्तार

    हाल नेपालमा सिकलसेल उपचारका क्षेत्रमा देखिएका मुख्य उपलब्धिहरुः
    देशभर दुई दर्जनभन्दा बढी स्वास्थ्य संस्थामा सिकलसेल परीक्षण सेवा उपलब्ध

    नेपालगञ्जको भेरी अस्पतालमा १६ वेडको सिकलसेल विशेष वार्ड सञ्चालन

    ब्लड ट्रान्सफ्युजनदेखि आवश्यक औषधिसम्म पूर्ण निःशुल्क सुविधा

    नवजात शिशुमा सिकलसेल पहिचान गर्ने अत्याधुनिक मेसिन नेपालमै पहिलोपटक भेरी अस्पतालमा

    थारू बस्तीका विद्यालयमै किशोर–किशोरीलाई परीक्षण र परामर्श सेवा

    धेरै स्थानीय तहमा पालिका–स्तरमै प्रयोगशाला सञ्चालन र परीक्षण सेवा विस्तार

    डा. पाण्डे भन्छन्, “अब नेपालमा आमाको गर्भमै गरिने प्रिनेटल टेस्टिङ् बाहेक सिकलसेल उपचारका सबै सेवा उपलब्ध छन् । यो दशकको सबैभन्दा ठूलो उपलब्धि हो ।”

     

    सामाजिक जागरणदेखि रोकथामसम्म

    सिकलसेल वंशाणुगत रोग भएकाले थारू समुदायमा सामाजिक जागरण अत्यन्तै आवश्यक छ । यसका लागि बाँके, बर्दिया लगायतका जिल्लामा विद्यालयमै कक्षा ८ देखि १२ सम्मका विद्यार्थीको परीक्षण, परामर्श तथा परिवारस्तरको स्वास्थ्य शिक्षाको कार्यक्रम नियमित सञ्चालन भइरहेको छ ।

    यसले भविष्यमा रोगको चक्र तोड्न सहयोग गरिरहेको स्वास्थ्यकर्मीहरूको विश्वास छ ।

    सरकारको उपचार सहायता वृद्धि, प्रदेश र स्थानीय तहमा विस्तार हुँदै गएको सेवा, भेरी अस्पतालमा प्राविधिक तथा भौतिक पूर्वाधारको उपलब्धि र सामाजिक जागरणसँगै अहिले सिकलसेल एनिमिया पीडितका जीवनमा नयाँ आशा पलाएको छ ।

    कहिल्यै नरोकिने संघर्षको कथाजस्तो रहेकाहरू आज उपचारयोग्य, व्यवस्थित र पहुँचयोग्य सेवाबाट चिन्तामुक्त हुँदै जीवनप्रति आशावादी देखिन थालेका छन् ।

    सिकलसेल एनिमिया अब उपेक्षित रोग होइन—नियन्त्रण योग्य र प्राथमिकतामा परेको स्वास्थ्य सरोकारका रूपमा स्थापित भइसकेको छ ।

  • १९ मंसिर २०८२, बिहीबार १०:३७ प्रकाशित

  • Nabintech