शीतलहरको मारमा बाँके : स्थानीय तहद्वारा दाउरा वितरण सुरु

  • नमस्ते कर्णाली

  • १२, पुस२०८२
    बाँके ।शीतलहर चलेर चिसो बढ्दै गएपछि बाँकेका स्थानीय तहले सर्वसाधारणलाई आगो ताप्न सहज होस् भन्ने उद्देश्यका साथ दाउरा वितरण सुरु गरेका छन् । बढ्दो जाडोका कारण दैनिक जीवन प्रभावित हुन थालेपछि स्थानीय सरकार सक्रिय बनेका हुन् ।
    डिभिजन वन कार्यालय बाँकेले हालसम्म १५ हजार क्यूफिट दाउरा विभिन्न स्थानीय तहलाई उपलब्ध गराइसकेको जनाएको छ । वन कार्यालयका सूचना अधिकारी टङ्क गुरुङले तोकिएको राजश्वको २५ प्रतिशत शुल्क बुझाएर स्थानीय तहले दाउरा लिइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका केही वडा, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकाबाट माग आएबमोजिम दाउरा उपलब्ध गराइएको हो ।
    उता नेपालगञ्ज उपमहानगरपालिकाका विपद् फोकल पर्सन दीपेन्द्र श्रेष्ठले चिसोबाट जोगिनका लागि केही वडाले आफ्नै पहलमा दाउरा खरिद गरिसकेको बताउनुभयो । उहाँले पालिकास्तरबाट समेत थप दाउरा खरिदका लागि सम्बन्धित निकायसँग पत्राचार गरिएको जानकारी दिनुभयो ।

    यस वर्षको शीतलहरका कारण बाँके जिल्लामा करिब ३५ हजार ५७२ परिवारका करिब १ लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ । चिसो बढ्दै गएसँगै जोखिममा परेका समुदायलाई लक्षित गर्दै दाउरा वितरणलाई अझ प्रभावकारी बनाउने तयारी स्थानीय तहले गरेका छन् ।

  • १२ पुष २०८२, शनिबार १९:४५ प्रकाशित

  • Nabintech