१३,पुस २०८२
सुर्खेत ।बढ्दो प्रदुषण, जलवायु परिवर्तनको प्रभाव र जैविक विविधताको ह्रास कम गर्न कर्णालीमा ‘पर्यावरणीय कृषिका सिद्धान्त र अभ्यास’सम्बन्धी प्रशिक्षण दिइएको छ । पर्यवारणीय कृषिमा आधारित खाद्य प्रणाली रुपान्तरण परियोजनाअन्तरगत कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र्र र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड)को साझेदारीमा कर्णाली प्रदेशका सरकारी निकायका कृषि, पशु र वन सेवाका सहायकस्तर (चौथो/पाँचौ तह)का २५ प्राविधिक कर्मचारीहरूलाई ‘पर्यावरणीय कृषिका सिद्धान्त र अभ्यास’सम्बन्धी छ कार्य दिनको प्रशिक्षण प्रदान गरिएको हो ।
परियोजना लागु भएका कर्यक्षेत्रहरू सुर्खेत, दैलेख र जुम्लासहित दशवटै जिल्लाबाट कृषि, पशु सेवा तथा वन सेवा तर्फका प्राविधिक कर्मचारीलाई परियोजनाको लक्ष्य अनुरुप पर्यवारणीय नमूना गाउँ बनाउने कार्यमा हातेमालो गर्ने हेतुले विशेष सहभागी गराइएको लिबर्डका कर्णाली प्रदेश संयोजक कृष्ण लम्सालले जानकारी दिए । उनका अनुसार ग्रीन इभोलुसन परियोजना जर्मन आर्थिक सहयोग तथा विकास मन्त्रालय र वेल्टहंगरहिल्फे को सहयोगमा नेपाल, भारत र बङ्गलादेशमा कार्यान्वयन भइरहेको छ ।
प्रदेश संयोजक लम्सालले मूलतः पर्यवरणीय कृषिको सिद्धान्त र व्यवहारलाई सरकारी कृषि प्रसार प्रणालीमा प्रभावकारी रूपमा समावेश तथा अभिवृद्धि गर्ने लक्ष्य राखी प्रदान गरिएको प्रशिक्षणले सिद्धान्त भन्दा व्यवहारिक अभ्यास गर्न जोड दिने बताए । पर्यवारणीय कृषिको मूल भाव ‘प्रकृतिसँग मेल खाने खेती प्रणाली भएको उल्लेख गर्दै कृषि क्षेत्रमा काम गर्ने प्राविधिक राष्ट्रको खाद्य सुरक्षाको मेरुदण्ड हो भनेर गर्व गर्नुपर्ने जिकिर गरे ।
कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले कृषि, पशु र वन तीनै क्षेत्रलाई समावेश गरी दिइएको प्रशिक्षण सरकारी कार्यक्रम तथा योजना तर्जुमा गर्दा पर्यावरणीय कृषि अनिवार्य शर्तका रूपमा दर्ज हुने बताए । कृषि, पशुमा देखिएको रसायनले मानव जीवनमा पारेको असर न्यूनीकरण गर्न प्राङ्गारिक अर्थात् विषादीरहित उत्पादनमा विशेष जोड दिइने उनको भनाइ थियो ।
कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र सुर्खेतका केन्द्र प्रमुख धनबहादुर कठायतले कर्णालीमा कृषिका महत्वपूर्ण काम हुँदै आएको दावी गरे । विश्वमा कृषि क्षेत्रको विकासका लागि जैविक विविधता, जलवायु परिवर्तन र प्रदुषणका सवालमा ठूलो बहस हुँदै गएको जनाउनुभएका उहाँले पर्यावरणमा आधारित कृषि योजना र कार्यक्रमले मात्र कर्णालीले लिएको अभियान अन्तर्राष्ट्रिय जगतमा पुर्याउन सकिने बताए ।
छ दिनसम्म चलेको प्रशिक्षणमा सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा विशेष जोड दिइएको थियो । सहभागी देवकुमारी पौडेलले कृषि उपज प्रणाली, पशु स्वास्थ्य व्यवस्थापन, माटोको उर्वरता, वृद्धिका जैविक उपाय, व्यवस्थापन, जैविक कीटनाशक प्रयोग, न्यूनतम खनजोत प्रविधि, परागसेचक संरक्षण, तथा जैविक प्रमाणिकरण र बजार प्रवद्र्धनबारे प्रशिक्षण प्राप्त गरेको बताए ।











