१८, पुस २०८२
सुर्खेत।सुर्खेतमा न्यानो बनाउन बालिएको कोइलाको धुवाबाट निसास्सिाएर एक शिशुको मृत्यु भएको छ । गएराति कोइला बालेर सुतिरहेको अवस्थामा ३८ दिने शिशु प्रतिक्षा बुढाको मृत्यु भएको हो । शिशुकी आमा तारा बुढा छोराछोरी र भदैनीसहित कोठामा कोइला बालेर सुतेका थिए ।
सुर्खेतको भेरीगंगा नगरपालिका–२ घर भएका उनीहरु वीरेन्द्रनगरमा कोठा भाडामा बस्दै आएका थिए । प्रहरीका अनुसार उनीहरु बिहान पौने १० बजे कोठामा बेहोस अवस्थामा भेटिएका थिए । सोही कोठामा सुतेका ताराका छोरा प्रकाश भने सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बेहोस भएका शिशुसहित तीनै जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा लगिएकोमा चिकित्सकले शिशुलाइ मृत घोषणा गरेका थिए । तारा बुढा र उनकी भदैनी संगमको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।











