२०, पुस २०८२
बाँके । जेन्जि आन्दोलनपछि तस्करी, अवैध आयात–निर्यात र लागुऔषध कारोबारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो तीन महिनाको अवधिमा एक करोड आठ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार सीमा नाकाबाट हुने अवैध आयात–निर्यात तथा लागुऔषध ओसारपसार नियन्त्रणका लागि विशेष सुरक्षा योजना बनाएर कडा अभियान सञ्चालन गरिएको छ । सोही अभियानको परिणामस्वरूप भन्सार राजस्व छलेर भारतबाट भित्र्याइएका एक करोड आठ लाख ८४ हजार ९६८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।अभियानका प्रहरीले अवैध कारोबारमा संलग्न २९ जनालाई पक्राउ गरेको छ । साथै एक जिप, १६ वटा मोटरसाइकल र दुईवटा इ–रिक्सा समेत नियन्त्रणमा लिइएको प्रहरी प्रमुख जिसीले बताउनुभयो । उहाँका अनुसार मुख्य सीमा नाकासँगै साइड नाकाहरूमा समेत प्रहरी परिचालन बढाइएको छ भने नेपालगन्ज बजार क्षेत्रमा पनि नियमित चेकजाँच कडा पारिएको छ ।
प्रहरीले तस्करी नियन्त्रणसँगै जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि पनि निरन्तर कारबाही गर्दै दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पछिल्लो दुई महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार ७४० वटा सवारीसाधनलाई कारबाही गरी ४० लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
सोही अवधिमा प्रहरीले एक लाख छ हजार ७२५ रुपैयाँ बराबरका अवैध पशुपंक्षी बरामद गरेको छ भने नदिजन्य पदार्थको अवैध उत्खनन् तथा ओसारपसारमा संलग्नबाट एक लाख ७० हजार रुपैयाँ राजस्व असुली गरेको जनाएको छ ।
यसैगरी तीन महिनाको अवधिमा जिल्लामा फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पक्राउ परेका फरार अपराधीबाट ६३ वर्ष ६ महिना ७ दिन कैद र ९६ लाख ७५ हजार ७४ रुपैयाँ राजस्व असुली भएको छ ।
लागुऔषध नियन्त्रणतर्फ पनि प्रहरी योजनाबद्ध रूपमा सक्रिय देखिएको छ । तीन महिनाको अवधिमा प्रहरीले ३५१ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर, १२९ ट्याब्लेट नाइट्राभेट र २२० ट्याब्लेट ट्रामाडोल बरामद गरेको छ । लागुऔषध ओसारपसारमा संलग्न ५७ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता पातलीले जानकारी दिनुभयो ।
बाँके प्रहरीले आगामी दिनमा पनि तस्करी, अवैध कारोबार, लागुऔषध र आपराधिक गतिविधिविरुद्ध कडा अभियान निरन्तर जारी रहने स्पष्ट पारेको छ ।










