२१, पुस २०८२
सुर्खेत ।सुर्खेतको भेरीगंगा नगरपालिकाले आफ्ना तीन वर्षे कार्यप्रगति सार्वजनिक गरेको छ। २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित यज्ञप्रसाद ढकालले पदभार सम्हालेपछि नगरपालिकालाई नीति, विधि र प्रविधियुक्त बनाउने अभियानलाई निरन्तरता दिएको दाबी गरेका छन्।
नगर प्रमुख ढकालका अनुसार भेरीगंगालाई सुशासनमैत्री र जनउत्तरदायी बनाउन ५५ भन्दा बढी नयाँ ऐन, नीति, निर्देशिका र कार्यविधि निर्माण गरिएको छ। ती कानुनहरू राजपत्रमा प्रकाशन भई कार्यान्वयनको चरणमा पुगिसकेका छन्। उनले कर्मचारी प्रशासनमा सुधार गर्दै ढिलासुस्ती र झन्झट हटाई जनतासँग मुस्कानसहित सेवा दिने संस्कृतिको सुरुवात गरिएको बताए।
सेवा प्रवाहलाई चुस्त बनाउन नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरूमा डिजिटल हाजिरी प्रणाली लागू गरिएको छ। साथै बढ्दो आपराधिक गतिविधिलाई नियन्त्रण गर्न नगरपालिका कार्यालय र बजार क्षेत्रमा सीसी क्यामरा जडान गरिएको छ।
सामाजिक सुरक्षातर्फ जटिल प्रकृतिका १० प्रकारका रोग—मुटु, मृगौला, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, हिमोफिलिया र प्यारालाइसिसबाट पूर्ण असक्त नागरिकलाई मासिक दुई हजार रुपैयाँ उपचार तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउन सुरु गरिएको छ। यसले आर्थिक अभावकै कारण उपचार नपाई ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य भएको नगर प्रमुख ढकालको भनाइ छ।
भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण गर्न भूमि आयोगसँग समन्वय गरी नापजाँच र प्रमाणीकरण कार्य अघि बढाइएको छ। साबिक मैनतडाको कोटमाझखर्कलगायत क्षेत्रमा पुर्जा वितरण भइसकेको छ। यसका साथै अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल प्रोफाइल, कृषि वन रणनीति, जलवायु अनुकूलन योजना, खाद्य अधिकार तथा पोषण रणनीतिसमेत निर्माण गरिएको छ।
रोजगार र सामाजिक उत्थानका लागि उपप्रमुख स्वरोजगार कार्यक्रम र ‘गरिबसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालनमा छन्। वैदेशिक रोजगारीमा जान चाहने नगरवासीका लागि रोजगार सेवा केन्द्रबाट व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको छ। विदेशमा समस्यामा परेकाहरूलाई सहयोग गर्ने संयन्त्रसमेत विकास गरिएको नगरपालिकाले जनाएको छ।
पूर्वाधार विकासमा उल्लेख्य प्रगति
तीन वर्षको अवधिमा भेरीगंगा नगरपालिकाले सीमित स्रोतसाधनका बाबजुद सार्वजनिक भवन, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत पूर्वाधार क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गरेको छ। नगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भइसकेको छ। छिन्चु बजार चोकदेखि इलाका प्रहरी कार्यालयसम्म, नगरपालिका कार्यालय हाता क्षेत्र र फोहरमैला प्रशोधन केन्द्रसम्म सडक कालोपत्रे गरिएको छ।
प्रमुख बजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरी फोहरमैला व्यवस्थापनलाई व्यवस्थित बनाइएको छ भने फोहरमैला प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला आँखा अस्पताल सुर्खेतसँगको सहकार्यमा छिन्चुमा आँखा उपचार केन्द्र स्थापना भई नियमित सेवा सञ्चालन भइरहेको छ। साथै सुविधा सम्पन्न छिन्चु बसपार्क निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
शिक्षा क्षेत्रमा हिमशिखर बहुमुखी क्याम्पस रामघाटको भवन निर्माण तथा फर्निचर व्यवस्था सम्पन्न गरिएको छ भने कृषि क्याम्पस रामघाटको ल्याब भवन पनि तयार भएको छ। नगरभित्रका दर्जनौँ माध्यमिक, आधारभूत र प्राथमिक विद्यालयका भवन निर्माण सम्पन्न भएका छन्। चालु आर्थिक वर्षमा मावि सनिमीर र आवि मुरलीखोलामा भवन निर्माण कार्य जारी छ।
स्वास्थ्य पूर्वाधारतर्फ वडा नम्बर १, २ र ४ मा नयाँ स्वास्थ्य संस्था स्थापना गरी सेवामा पहुँच विस्तार गरिएको छ। जहरेमा आयुर्वेद औषधालय भवन निर्माण सम्पन्न भई सेवा सुरु भएको छ। शौचालय निर्माण, शुद्ध खानेपानीका लागि फिल्टर मेसिन जडान तथा स्वास्थ्य भवन निर्माणका काम पनि अघि बढेका छन्।
सबै वडामा सडक र खानेपानी विस्तार
नगरपालिकाका सबै वडामा सडक विस्तार भएको छ भने अति दुर्गम मनिरामकाँडासम्म सडक पुगेको छ। जहरेमा प्रहरी चौकी भवन, वडा नम्बर ३ र ७ का वडा कार्यालय भवन निर्माणाधीन छन्। मैनतडामा दलित संग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ।
खानेपानीतर्फ बसेरी, मैनटार, सानो ढुंगी, सानो हर्रे लगायतका योजना सम्पन्न भई सञ्चालनमा आएका छन्। चालु आर्थिक वर्षमा आठ खानेपानी योजना निर्माणाधीन छन्। सिंचाइ कुलो, डिपबोरिङमार्फत कृषि सिंचाइ व्यवस्थापन गरिएको छ भने खेल पूर्वाधारअन्तर्गत मैनतडा रंगशाला निर्माण सुरु भएको छ।
औद्योगिक ग्राम र पर्यटन पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको छ। बराहडाँडा, गिद्ददेडाँडा, देउतीबज्यै, दुर्गा मन्दिर, रामजानकी मन्दिर र रामजानकी शहीद पार्कमा विभिन्न संरचना निर्माण भइसकेका छन्।
नगर प्रमुख ढकालले आगामी दिनमा पनि सुशासन, पूर्वाधार र सामाजिक न्यायलाई केन्द्रमा राखेर भेरीगंगालाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।










