२३, पुस २०८२
सुर्खेत ।लोपोन्मुख फिरन्ते जाति राउटे समुदायका युवाहरुलाई प्राथमिक उपचारका आधारभूत सीप सिकाउन थालिएको छ । राउटे समुदायको जिविकोपार्जन सुधारमा काम गर्दै आएको सोसेक नेपालको आयोजनामा राउटे समुदायको स्वास्थ्य सुधारका लागि प्राथमिक उपचार तालिम दिन सुरु गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने तालिममा राउटे समुदायका युवाहरुलाई प्राथमिक उपचार सम्बन्धिका आधारभूत सीप सिकाइने छ । मंगलबार लेकवेशी नगरपालिका–७, पुलटारमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले तालिमको समुद्घाटन गरेका हुन् ।

हाल राउटेहरु लेकवेशी नगरपालिका–७, को जंगलमा बसोवास गर्दै आएका छन् । तालिममा राउटे समुदायका आठ महिला र सात पुरुष गरी १५ जनाको सहभागिता छ । उनीहरुलाई नेपाल रेडक्रस शाखा सुर्खेतका स्वास्थ्यकर्मीहरुले प्रयोगात्मक अभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने छन् । तालिम पश्चात उनीहरुले आफ्नो समुदायमा गएर चोटपटक तथा अन्य स्वास्थ्य समस्या देखापरेको खण्डमा अस्पताल पुर्याउनुपूर्व प्राथमिक उपचार गर्न सक्षम हुने अपेक्षा गरिएको छ ।
तालिमको उद्घाटन गर्दै मन्त्री भण्डारीले राउटे समुदाय कर्णालीको पहिचान भएकाले उनीहरुको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए । ‘कुनै समय पैसा छोए पाप लाग्छ भन्ने राउटे समुदायका नवयुवाहरुले आधुनिक स्वास्थ्य उपचारप्रति देखाएको चासोले आधुनिकीकरणको सन्देश दिएको छ,’ मन्त्री भण्डारीले भने, ‘राउटे समुदाय हाम्रा लागि एउटा जाति मात्र नभई सभ्यता, भाषा र संस्कृतिको जीवन्त संगम पनि हो । यसर्थ, राउटेको जीविकोपार्जनसँगै उनीहरुको स्वास्थ्यप्रति सबैले चासो राख्न आवश्यक छ ।’
मानवविकासक्रममा ढुङ्गे युगमै छुटेको राउटे समुदायलाई उनीहरुको सभ्यतामा ठेस नपुग्ने गरी सामाजिकरणको पाटोमा ल्याउन सरकारले प्रयास गरिरहेको मन्त्री भण्डारीले बताए । उनले राउटेहरु बसाइँसरेको विगत १० वर्षको तथ्यांकका आधारमा राउटे कोरिडोर निर्माण गर्न राउटे नीति अन्तिम चरणमा रहेको बताए । राउटे नीति बनेसँगै उनीहरुको रहनसहन र रितिरिवाजमा असर नपर्ने गरी विस्तारै आधुनिकीकरणमा सरकारले नीति तथा कार्यक्रम केन्द्रित गर्ने बताए । उक्त नीतिको मस्यौदा तयार भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेकाले अबको केही समयमै कानुनको रुपम धारण गर्ने उनले बताए ।
त्यस्तै, राउटेलाई परिचयपत्र दिएर सामाजिक सुरक्षा भत्ता दिदै आएको दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले राउटे समूदायको पहिचान यथावत राखेर आधुनिकरणतर्फ लैजाने प्रयास गरिरहेको बताए । ‘यसअघि आधुनिक चिकित्सा प्रणालीको नामै सुन्न नचाहने राउटेमा पछिल्लो समयमा आइरहेको परिवर्तनले उनीहरु आम मानिससरह जीउन चाहेको तथ्य पुष्टि भइरहेको छ,’ उनले भने । अध्यक्ष विसीले राउटे समुदायका नागरिकलाई नागरिकता दिन पालिकाले पहल थालिसकेको बताए । कार्यपालिका बैठकबाट राउटेलाई नागरिकता दिने प्रस्ताव पास भई जिल्ला प्रशासन कार्यालय दैलेखमा पुगिसकेकाले अबको केही समयमा नागरिकता उपब्ध गराइने उनले बताए ।
त्यस्तै, पछिल्लो समय राउटेहरु आधुनिक चिकित्सा उपचार विधिमा विश्वास गर्न थालेसँगै यो समूदायका युवाहरुलाई प्राथमिक उपचार तालिम दिन लागिएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिं थापाले बताए । सोसेकले विगत आठ वर्षयता राउटेको सामाजिकरणका क्षेत्रमा काम गर्दै आएको छ । परम्परागत घरेलु उपचार पद्दतीले राउटे समूदायमा जटिल खालका स्वास्थ्य समस्या देखापर्न थालेपछि नयाँ पिढीलाई आधुनिक उपचार पद्दतीका बारेमा जानकारी दिन तालिम आयोजना गरिएको बताए । तालिमबाट उनीहरुलाई सामाजिकरणतर्फ उन्मुख गराउन सघाउ पुर्याउने उनले बताए । उनले राउटे समुदायका पाका नागरिकबाहेक नयाँ पिढीका युवाहरुले आफुलाई विस्तारै आधुनिकतामा ढाल्दै गएको बताए ।
कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान लगायतका जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको जनसंख्या एक सय ३३ छ । पछिल्लो समय आधुनिकताको प्रभावले मदिरा सेवन र अस्वस्थ जीवनशैली र खानपानले राउटे समुदायको जनसंख्या तीव्र ह्रास भइरहेको छ ।











