सरला सुवेदी
२७, पुस २०८२
बाँके ।बाँकेमा लागू औषधको समस्या दिनप्रतिदिन भयावह बन्दै गएको छ। खुला सिमाना, बढ्दो बेरोजगारी, पारिवारिक बेवास्ता र मानसिक दबाबका कारण विशेषगरी युवा तथा बालबालिका लागू औषधको लतमा फस्दै गएका छन्। निगरानी र नियन्त्रणका प्रयास निरन्तर भइरहे पनि बाँके जिल्ला लागू औषध सेवन र ओसारपसारको सहज गन्तव्य बन्दै गएको सरोकारवालाहरू बताउँछन्।
खुला सिमाना रहेको बाँके जिल्लामा लागू औषध सेवन र बेचबिखनको समस्या गम्भीर बन्दै गएको छ। जमुनाहा, जयसपुर, हिरमिनिया, उदयपुर लगायतका नाका तथा नगर क्षेत्रबाट लागू औषध सेवन तथा कारोबारमा संलग्नलाई प्रहरीले नियमित रूपमा पक्राउ गर्दै आएको छ। तर, यस्ता कारबाहीका बाबजुद समस्या न्यूनीकरण हुन सकेको छैन। रोजगारीको अभाव, पारिवारिक असहयोग र सामाजिक–मानसिक दबाबका कारण बालबालिका र युवाहरू लागू औषध दुर्व्यसनतर्फ धकेलिँदै गएका छन्।
स्थानीय तथ्यांकअनुसार बाँकेमा करिब १२ हजार जना लागू औषध सेवनकर्ता रहेको अनुमान गरिएको छ। युवाहरू रचनात्मक तथा उत्पादनमूलक गतिविधिमा संलग्न हुन नसक्दा सजिलै लागू औषधको ट्रयाकमा फस्ने गरेको देखिन्छ। लागू औषध विरुद्धका अभियन्ता अभिराज क्षेत्री भन्नुहुन्छ।,
“युवालाई सही दिशामा लैजाने खेलकुद, सीपमूलक तालिम र रोजगारीका अवसर नहुँदा उनीहरू सजिलै गलत संगतमा फस्छन्। परिवार र समाजले समयमै ध्यान नदिँदा समस्या झन् जटिल बनेको छ।”
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा लागू औषधसम्बन्धी १७७ वटा मुद्दा दर्ता भएका थिए। ती मुद्दामा २६४ जना पक्राउ परेका छन्। लागू औषध सेवन मात्र होइन, ओसारपसारको अवस्था पनि दिनप्रतिदिन भयावह बन्दै गएको तथ्यांकले देखाउँछ। यसका कारण घरेलु हिंसा, बेरोजगारी, यौनजन्य रोग, चोरी, लुटपाटजस्ता सामाजिक समस्या समेत बढ्दै गएका छन्।
बाँके कारागार व्यवस्थापन विभागका अहेव कबिराम बुढाथोकीका अनुसार लागू औषधका कारण जेल पुग्नेको संख्या पनि बढ्दो क्रममा छ।
उहाँ भन्नुहुन्छ“लागू औषधमा फसेका धेरैजसो युवा सामान्य कामकाज गर्न नसक्ने अवस्थामा पुग्छन्। यसले परिवार मात्र होइन, समग्र समाजलाई असर पुर्याइरहेको छ।”
चिन्ताजनक पक्ष के छ भने लागू औषध सेवनमा युवतीहरूको संख्या पनि बढ्दै गएको छ। २० देखि ३५ वर्ष उमेर समूहका युवा–युवती सबैभन्दा बढी जोखिममा रहेका छन्। प्रहरीका अनुसार बाँकेमा ब्राउन सुगरको प्रयोग सबैभन्दा बढी देखिएको छ। नेपालगञ्ज हुँदै अफिम र चरेस भारततर्फ जाने तथा भारतबाट ब्राउन सुगर लगायतका नार्कोटिक ड्रग नेपाल भित्रिने क्रम जारी छ। खुला सिमानाकै कारण सेवन र ओसारपसार सहज बनेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पाताली भन्नुहुन्छ “खुला सिमानाले चुनौती थपिएको छ। हामीले नियमित चेकजाँच, गस्ती र विशेष अपरेसन चलाइरहेका छौं। तर, सीमापार समन्वय र समुदायको सहयोग बिना समस्या नियन्त्रण गर्न गाह्रो छ।”
लागू औषध न्यूनीकरणका लागि बाँकेमा हाल १७ वटा उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालनमा छन्। जसमध्ये १५ वटा पुरुष र दुईवटा महिलाका लागि छुट्टै छन्। यी केन्द्रमा करिब ३०० जना उपचारका लागि भर्ना भएका छन्। तर, अनुमानित सेवनकर्ताको संख्या हेर्दा उपचार र पुनर्स्थापनाको पहुँच अझै अपर्याप्त देखिन्छ।
सरकार, सुरक्षा निकाय, स्थानीय तह, विद्यालय, परिवार र समुदायबीच समन्वय गरेर मात्र लागू औषधको बढ्दो समस्या नियन्त्रण गर्न सकिने सरोकारवालाहरूको जोड छ। समयमै सचेतना, रोजगार सिर्जना, पारिवारिक निगरानी र कडा कानुनी कार्यान्वयन नभए बाँकेमा लागू औषधको समस्या झन् गहिरिँदै जाने चेतावनी उनीहरूले दिएका छन्।










