२९, पुस २०८२
बाँके ।बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित सौरी क्षेत्रमा मानिसको ज्यान लिने बाघको खोजी तीव्र पारिएको छ । गत शनिबार गाई चराउन जङ्गल गएका सौरी निवासी ६२ वर्षीय मरीचमान भण्डारीमाथि बाघले आक्रमण गर्दा उहाँको मृत्यु भएपछि स्थानीयवासी त्रसित बनेका छन् ।
घटनापछि स्थानीयमा भय र असुरक्षाको भावना बढेपछि बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले घटनालाई गम्भीर रूपमा लिँदै बाघको खोजी तथा निगरानी कार्यलाई तीव्र बनाएको छ । थप जोखिमबाट स्थानीयलाई जोगाउन घटनास्थल आसपासको क्षेत्रमा सिसी क्यामरा जडान गरी नियमित अनुगमनसमेत भइरहेको निकुञ्जले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार घटनास्थल वरपर पाँच वटा सिसी क्यामरा जडान गरी बाघको गतिविधि निरन्तर निगरानी गरिएको छ । हालसम्म उक्त क्षेत्रमा बाघको पुनः उपस्थिति नदेखिएको बताउँदै उहाँले आक्रमणपछि बाघ आहारा खोज्दै अन्यत्र सरेको हुन सक्ने अनुमान गर्नुभयो ।
उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट बाघले पहिल्यै गाई मारेको अवस्थामा भण्डारी नजिक पुगेका कारण आहारा जोगाउने क्रममा आक्रमण भएको सम्भावना देखिएको छ । घटनापछि सौरी र आसपासका बस्तीमा वनक्षेत्रमा जानु पर्ने अवस्थालाई लिएर स्थानीयमा डर र सतर्कता बढेको छ ।
निकुञ्ज प्रशासनले स्थानीयवासीलाई समूहमा मात्र जङ्गल जान, साँझपख वनक्षेत्र नछिर्न तथा कुनै पनि शङ्कास्पद गतिविधि देखिए तुरुन्त निकुञ्ज वा सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह गरेको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि थप निगरानी, जनचेतना कार्यक्रम र स्थानीय तहसँगको समन्वयात्मक उपाय अघि बढाइएको निकुञ्जले जनाएको छ ।
यसैबीच, पछिल्ला केही समययता बर्दिया राष्ट्रिय निकुञ्जमा पनि बाघलगायत जङ्गली जनावरद्वारा स्थानीयवासीमाथि आक्रमणका घटना निरन्तर देखिँदै आएका छन् । बाँके निकुञ्ज वरपरका क्षेत्रमा समेत यस्ता घटनाहरू दोहोरिन थालेपछि स्थानीयमा डर त्राससँगै आक्रोश बढ्दै गएको छ । दुवै निकुञ्ज प्रशासनले जोखिम क्षेत्र पहिचान गरी आवश्यक सतर्कता अपनाउने र मानव–वन्यजन्तु सहअस्तित्वलाई मजबुत बनाउने प्रतिबद्धता जनाएको छ ।










