सिधनियाघाटमा नयाँ पक्कीको निर्माण कार्य तीव्र

  • नमस्ते कर्णाली

  • २९, पुस २०८२

    बाँके।हुलाकी राजमार्गअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीस्थित सिधनियाघाटमा निर्माणाधीन पक्की पुल चालु आर्थिक वर्ष २०८२/८३ भित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र गतिमा भइरहेको छ । साँघुरो पुलका कारण वर्षौँदेखि सवारीसाधनलाई पालो कुरेर आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य गर्न ११ मिटर चौडाइको नयाँ पक्की पुल निर्माण थालिएको हो ।

    हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार पुलका पिल्लर र स्पान निर्माण कार्य द्रुत रूपमा अघि बढिरहेको छ । “असारभित्रै पुलको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित दिनरात काम भइरहेको छ,” उनले भने, “कार्यालयका तर्फबाट नियमित अनुगमनसँगै आवश्यक समन्वय र सहजीकरण पनि भइरहेको छ ।”

    हालसम्म पुलमा आवश्यक ११ वटा पिल्लरमध्ये ९ वटाको निर्माण सम्पन्न भइसकेको छ । यसैगरी १० वटा स्पानमध्ये ६ वटाको काम पूरा भएको छ भने ७ औँ र ८ औँ स्पानको काम तयारी चरणमा रहेको आयोजनाले जनाएको छ । बाँकी संरचनात्मक कामहरू पनि क्रमशः अघि बढाइने योजना रहेको छ ।

    सिधनियाघाटमा करिब डेढ दशकअघि निर्माण सम्पन्न भएको पुरानो पुल साँघुरो हुँदा सवारी जाम र जोखिम बढ्दै गएको थियो । हुलाकी राजमार्गको मुख्य खण्डमा पर्ने यस नाकामा दैनिक ठूलो संख्यामा सवारी साधन चल्ने भएकाले फराकिलो र आधुनिक पुलको आवश्यकता महसुस भएपछि नयाँ पुल निर्माणको प्रक्रिया अघि बढाइएको हो ।

    पुल निर्माणका लागि २०७९ माघ १० गते लुम्बिनी–रौताह बन्धन भगवती जेभी, काठमाडौँसँग ५३ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । आयोजनाको कुल लागत भ्याटसहित एक अर्ब १९ करोड रुपैयाँ रहेको छ । निर्धारित समयअगावै काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण परिचालन गरेको जनाइएको छ ।

    योजना प्रमुख भण्डारीका अनुसार सिधनियाघाट क्षेत्रमा पुलसँगै अन्य पूर्वाधारका काम पनि एकसाथ अघि बढाइनेछन् । “यहाँ करिब सात सय मिटर पुल संरचना, एक हजार ४८० मिटर एप्रोच सडक, चार किलोमिटर नदी नियन्त्रण तथा तीन सय मिटर ढलानको काम एकैपटक सम्पन्न गर्ने योजना छ,” उनले जानकारी दिए । हाल सञ्चालनमा रहेको ३५० मिटर लामो पुरानो पुलको नजिकै नयाँ पुल निर्माण भइरहेको छ ।

    नयाँ पुल निर्माण सम्पन्न भएपछि हुलाकी राजमार्गको यस खण्डमा सवारी आवागमन सहज हुने, यात्रा समय घट्ने र स्थानीय बासिन्दाका साथै व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । साथै वर्षायाममा बाढी र जामका कारण हुने जोखिम पनि न्यून हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् ।

  • २९ पुष २०८२, मंगलवार ०९:१५ प्रकाशित

  • Nabintech