खेलकुद परिषद्को सदस्य सचिवमा १० जनाकाे प्रारम्भिक योग्यताक्रम सार्वजनिक

  • नमस्ते कर्णाली

  • १, माघ २०८२

    सुर्खेत ।कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव सिफारिस प्रक्रियाअन्तर्गत प्रारम्भिक योग्यताक्रमको सूची सार्वजनिक भएकाे छ । सामाजिक विकास मन्त्रालयले ९ मंसिर २०८२ मा परिषद्को सदस्य सचिवकाे पदपूर्तिका लागि खुला दरखास्त आव्हान गरेकाे थियाे । दरखास्त बमोजिम आवेदन दिएका उम्मेदवारहरूमध्ये १० जना प्रारम्भिक छनोटमा परेका छन् ।
    मन्त्रालयका अनुसार सदस्य सचिव पदका लागि २१ जनाले आवेदन दिएका थिए । ‘कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव छनौट सम्बन्धी मापदण्ड, २०८२’ को दफा ७ बमोजिम उम्मेदवारहरूले स्वयम् प्रमाणित गरी पेश गरेका शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी कागजातहरूको मूल्याङ्कन पश्चात सूचि सार्वजनिक गरिएकाे हो । सोही मूल्याङ्कनका आधारमा ऐनको दफा ७ को उपदफा (७) अनुसार प्रारम्भिक योग्यताक्रमको सूची तयार गरिएको मन्त्रालयले जनाएको छ ।
    वर्णानुक्रम अनुसार प्रारम्भिक योग्यताक्रममा पर्ने उम्मेदवारहरूमा जुम्लाका चेतनराज गिरी, दैलेखका जगतप्रसाद रिजाल, सुर्खेतका दिपक हमाल र दिलिप बस्याल छन् । यस्तै, कालिकोटका पंखबहादुर मल्ल, दैलेखका पवनकुमार थापा, सुर्खेतका प्रभात थापा, प्रमोद हमाल र रविन्द्र चन्द तथा दैलेखकी हेमा खड्काकाे नाम सार्वजनिक भएकाे छ ।
    प्रारम्भिक योग्यताक्रममा समावेश भएका उम्मेदवारहरूको अन्तरवार्ता ३ माघमा ताेकिएकाे छ ।
    ६ पुस २०७७ मा नियुक्त भएका परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यसचिव विश्वामित्र सञ्ज्यालको चारवर्षे पदावधि ६ पुस २०८१ मा समाप्त भएको थियो ।
    प्रदेश सरकारले परिषद् रिक्त भएको एक वर्षपछि सदस्यसचिव नियुक्तिको प्रक्रिया अघि बढाएकाे हाे ।

  • २ माघ २०८२, बिहीबार १६:३९ प्रकाशित

  • Nabintech