नेपालगञ्जमा मिथिला सेवा समाजद्वारा माघे सङ्क्रान्ती विशेष कार्यक्रम, एकता र सद्भावको सन्देश

  • नमस्ते कर्णाली

  • २, माघ २०८२
    बाँके।नेपालगञ्जमा बसोबास गर्दै आएका मैथिली भाषीहरूको साझा संस्था मिथिला सेवा समाजले आफ्नो स्थापना दिवसको अवसरमा माघे सङ्क्रान्ती (तिलासकरात) विशेष कार्यक्रम आयोजना गरेको छ। विविध जाति, भाषा र संस्कृतिबीच आपसी सद्भाव र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मिथिला संस्कृतिको जीवन्त झल्को देखिएको थियो।
    कार्यक्रममा मैथिली समुदायको परम्परा, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई केन्द्रमा राख्दै सांस्कृतिक प्रस्तुति, परम्परागत खानाका परिकार र सम्मान कार्यक्रम समावेश गरिएको थियो। तिलको लड्डु, चाकु, तरुललगायत माघे सङ्क्रान्तीका परम्परागत परिकारले सहभागीहरूलाई मिथिला संस्कृतिसँग थप नजिक बनाएको थियो।
    मिथिला सेवा समाजका महासचिव भरत महतोका अनुसार नेपालगञ्जमा रहेका मैथिली भाषी समुदायलाई एकताबद्ध गर्दै सामाजिक, आर्थिक तथा सांस्कृतिक गतिविधि सशक्त बनाउने लक्ष्यका साथ प्रत्येक वर्ष माघी पर्वकै दिन यस्ता कार्यक्रम आयोजना गरिँदै आएको छ। उहाँका अनुसार बाँके जिल्लामा व्यवसाय, शिक्षा, सुरक्षा निकाय, स्वास्थ्य र निजामती सेवामा संलग्न मैथिली भाषी करिब एक हजार घरधुरी रहेका छन्। “समाजको साझा पहिचान जोगाउँदै नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण गर्नु हाम्रो मुख्य उद्देश्य हो,” महासचिव महतोले भन्नुभयो।
    कार्यक्रममा मिथिला संस्कृतिको संरक्षण र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका एक सयभन्दा बढी व्यक्तित्वलाई खादा र मालाले सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूले यस्ता कार्यक्रमले समुदायभित्र मात्र होइन, समग्र समाजमा आपसी समझदारी र सहकार्यको भावना बढाउने धारणा व्यक्त गरेका थिए।
    नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले बाँकेको बहुसांस्कृतिक पहिचानलाई सुदृढ बनाउन यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। भाषा, संस्कृति र पर्वले समुदायलाई नजिक ल्याउने भएकाले आपसी सम्मान, सहिष्णुता र सद्भाव कायम राख्न सबैले भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो।
    कार्यक्रममा विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्र, वरिष्ठ अधिवक्ता विजय गुप्ता, अधिवक्ता विश्वजित तिवारी, पत्रकार रुद्र सुवेदी, डा. प्रविन गुप्तालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मिथिला संस्कृतिको संरक्षणसँगै नेपालगञ्जको सामाजिक सद्भावलाई थप मजबुत बनाउन यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
    मिथिला सेवा समाजद्वारा आयोजित यस कार्यक्रमले माघे सङ्क्रान्तीलाई केवल पर्वका रूपमा मात्र नभई एकता, सद्भाव र सांस्कृतिक सहअस्तित्वको उत्सवका रूपमा प्रस्तुत गरेको सहभागीहरूको प्रतिक्रिया रहेको छ।

     

     

     

     

  • ३ माघ २०८२, शुक्रबार १४:३३ प्रकाशित

  • Nabintech