राउटेलाई नागरिकता दिने ऐतिहासिक पहल : गुराँस गाउँसभाबाट गैरभौगोलिक विशेष वडा प्रस्ताव पारित

  • नमस्ते कर्णाली

  • २, माघ २०८२

    सुर्खेत ।दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायलाई नेपाली नागरिकताको औपचारिक पहिचान दिलाउने ऐतिहासिक कदम अघि बढाएको छ । पुस २९ गते सम्पन्न १७औँ गाउँसभाको अधिवेशनले राउटे समुदायको हक, अधिकार र अस्तित्व सुनिश्चित गर्ने उद्देश्यसहित प्रस्तुत प्रस्ताव बहुमतले पारित गरेको हो ।
    गुराँस गाउँपालिका–८ का वडाध्यक्ष तथा सुशासन समिति संयोजक दीपेन्द्र ओलीले जरुरी सार्वजनिक महत्वको प्रस्तावका रूपमा उक्त विषय गाउँसभामा प्रस्तुत गरेका थिए । प्रस्तावमा नेपालको संविधानको धारा ५६ (५) मा व्यवस्था गरिएको विशेष वा स्वायत्त क्षेत्रको अवधारणालाई आधार मानेर गुराँस गाउँपालिकाभित्र बसोबास गर्ने फिरन्ते राउटे समुदायका लागि गैरभौगोलिक विशेष वडा गठन गर्ने व्यवस्था अघि सारिएको छ । सो विशेष वडा गुराँस गाउँपालिका–९ नम्बर वडा घोषणा गरिने उल्लेख छ ।
    नागरिकता र मताधिकारको सुनिश्चितता
    प्रस्तावमा राउटे समुदायलाई पहिलो पटक औपचारिक रूपमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने र मताधिकारसमेत प्रदान गर्ने स्पष्ट व्यवस्था गरिएको छ । यसलाई राउटे समुदायलाई राज्यको मूल प्रवाहमा समावेश गर्ने ऐतिहासिक कदमका रूपमा लिइएको छ ।
    साथै, राउटे समुदायको परम्परागत संस्कार, संस्कृति र जीवनशैली मासिन नदिने कुरामा विशेष जोड दिइएको छ । उनीहरूको फिरन्ते जीवनशैलीलाई सम्मानजनक र सुरक्षित ढंगले निरन्तरता दिने, साथै आन्तरिक नेतृत्व संरचना पनि उनीहरूको परम्पराअनुसार नै रहने व्यवस्था प्रस्तावमा समेटिएको छ ।
    महामुखिया सहित विशेष वडा संरचना
    प्रस्तावअनुसार राउटे समुदायका कलेल, राष्कोटी र स्ववंशी सन्तानबाट एक–एक जना गरी तीन जना सदस्य (मुखिया) निर्वाचित गरिनेछन् । तीमध्ये एक जनालाई वडा अध्यक्ष (महामुखिया)का रूपमा चयन गरिनेछ भने एक जना महिला सदस्यको अनिवार्य प्रतिनिधित्व रहनेछ ।
    यस संरचनामार्फत राउटे समुदायलाई राज्यको कार्यपालिका र व्यवस्थापिकामा पहुँच पुर्‍याउने, आत्मनिर्णयको अधिकार सुरक्षित गर्ने, राउटेको नाममा हुने गलत गतिविधि नियन्त्रण गर्ने तथा उनीहरूको संस्कार, संस्कृति र अस्तित्व जोगाउने लक्ष्य राखिएको छ । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायत राज्यका सेवासुविधामा उनीहरूको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्य पनि प्रस्तावमा उल्लेख गरिएको छ ।
    संघीय तहसम्म सिफारिस हुने
    गुराँस गाउँसभाबाट पारित प्रस्ताव प्रदेश सभा र प्रदेश सरकारमा सिफारिस गरिनेछ । त्यसपछि संघीय सरकार र संघीय व्यवस्थापिकामा पठाई अन्तिम स्वीकृति लिइने व्यवस्था गरिएको छ । संघीय तहबाट स्वीकृति प्राप्त भएपछि राउटे समुदायका नागरिकलाई नागरिकता प्रदान गरी मतदाता सूचीमा समावेश गरिनेछ ।
    राज्यको मूल प्रवाहमा ल्याउन आवश्यक : अध्यक्ष बिसी
    गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले राउटे समुदायलाई विगतदेखि नै सेवा–सुविधा दिँदै आए पनि नागरिकताको अभावले उनीहरू राज्यका औपचारिक नागरिकका रूपमा प्रमाणित हुन नसकेको बताए ।
    उनले भने, “राउटे समुदाय गुराँस गाउँपालिकाकै स्थानीय बासिन्दा भए पनि उनीहरूसँग नेपाली नागरिक भएको आधिकारिक कागजात छैन । कहिलेकाहीँ जंगलको बाटो हुँदै भारत पुगेपछि उनीहरू हाम्रा नागरिक हुन् भन्ने प्रमाण देखाउनसमेत कठिनाइ भयो । यही समस्याको समाधानका लागि नागरिकताको पहल गरिएको हो ।”
    अध्यक्ष बिसीले विगतमा विभिन्न संघ–संस्थाले राउटेका नाममा कार्यक्रम गरे पनि कसैले नागरिकता दिलाउन नसकेको उल्लेख गर्दै अब यो प्रक्रिया अगाडि बढिसकेको दाबी गरे । “हामी स्वयं नागरिकता दिने निकाय नभएकाले संघीय सरकारको सहयोग आवश्यक छ । त्यसैले गाउँसभाबाट प्रस्ताव पारित गरी औपचारिक प्रक्रिया सुरु गरिएको हो,” उनले भने ।
    स्थायी बसोबास भए भौगोलिक वडा
    अध्यक्ष बिसीका अनुसार गुराँस गाउँपालिकामा हाल ८ वटा वडा छन् । यदि राउटे समुदाय स्थायी रूपमा बसोबास गर्न थाले भौगोलिक आधारमा वडा थप गरी ९ बनाइनेछ । स्थायी बसोबास नभएमा राजनीतिक तथा प्रशासनिक केन्द्रको रूपमा गैरभौगोलिक विशेष वडा सञ्चालन गरिनेछ ।
    यसअघि गाउँपालिकाले २०७६/०७८ र २०८० मा गरी दुई पटक राउटे समुदायलाई अस्थायी परिचयपत्र प्रदान गरेको थियो । तर, ती परिचयपत्रबाट बैंक खाता खोल्न, भत्ता वितरण गर्न र अन्य सेवासुविधा लिन समस्या हुँदै आएको अध्यक्ष बिसीले बताए । पालिकाले जिल्ला प्रशासन कार्यालय दैलेखलाई औपचारिक पत्राचार गरी आम नागरिक सरह राउटेलाई स्वीकार गर्न आग्रहसमेत गरेको छ । २०८४ को स्थानीय तह निर्वाचनसम्म नागरिकता दिलाउने लक्ष्यसहित पहल भइरहेको उनले जानकारी दिए ।
    “सेवा–सुविधा पाउँछौँ भने नागरिकता लिन्छौँ”
    राउटे समुदायका मुखिया शेरबहादुर शाहीले सरकारले सेवा–सुविधा प्रदान गर्ने हो भने नागरिकता लिन तयार रहेको बताए ।
    उनले भने, “पहिला राउटेले केही पनि बोक्दैनथ्यो । मोबाइल पनि बोक्दैनथ्यो, नागरिकता पनि थिएन । सरकारले सेवा–सुविधा दिन्छ भने नागरिकता बोक्छौँ ।”
    मुखिया शाहीका अनुसार पछिल्लो समय राउटे समुदायको जीवनशैलीमा पनि क्रमशः परिवर्तन आएको छ । “पहिला राउटेको चोला फरक थियो । काठका भाँडाकुँडा बनाएर खान्थ्यौँ । अहिले चामल किन्नुपर्छ, भत्ता आउँछ, धेरै सुविधा भएको छ,” उनले भने ।
    हाल १३७ जनसंख्या रहेको राउटे समुदाय सुर्खेतको लेकबेशी नगरपालिका–गंगगटे क्षेत्रमा अस्थायी रूपमा बसोबास गरिरहेको छ । गुराँस गाउँपालिकाको यो पहल सफल भए राउटे समुदायले पहिलो पटक पूर्ण नागरिक अधिकारसहित राज्यको मूल प्रवाहमा स्थान पाउने अपेक्षा गरिएको छ ।

  • ३ माघ २०८२, शुक्रबार १४:५७ प्रकाशित

  • Nabintech