५, माघ २०८२
बाँके। नरैनापुर गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई राज्यको मूलधारमा ल्याउने लक्ष्यसहित निस्सा वितरण कार्यक्रम सम्पन्न गरेको छ। वडा नं. ४ अन्तर्गत रहेका २०५ परिवारलाई निस्सा वितरण गरिएको सहायक प्रशासकीय अधिकृत तथा भूमि शाखा प्रमुख भरत महतोले जानकारी दिनुभयो। लामो समयदेखि अस्थिर बसोबास र अनिश्चित भविष्यमा जीवन बिताइरहेका परिवारका लागि यो निस्सा केवल कागज होइन, सुरक्षित भोलिको आधार बनेको छ।
निस्सा वितरण कार्यक्रम वडा नं. ४ का अध्यक्ष मनोज शर्माको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, समाजसेवी तथा ठूलो संख्यामा लाभग्राही परिवारको सहभागिता रहेको थियो।
निस्सा वितरण गर्दै गाउँपालिका अध्यक्ष शाहले भूमिहीन नागरिकलाई राज्यको मूलधारमा ल्याउन निस्सा वितरण महत्वपूर्ण आधार भएको बताउनुभयो। “यो निस्सा भविष्यमा जग्गा व्यवस्थापन र अधिकार सुनिश्चित गर्ने प्रक्रियाको पहिलो ढोका हो,” उहाँले भन्नुभयो, “अब भूमिहीन परिवारको पहिचान भएको छ, यसले उनीहरूको जीवनमा स्थायित्व र भरोसा थप्नेछ।” उहाँले पालिका सरकार नागरिकको आधारभूत अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो।
गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले निस्सा वितरणलाई अधिकार प्राप्तिको प्रारम्भिक खुड्किलोका रूपमा व्याख्या गर्नुभयो। “वर्षौंदेखि अस्थिर जीवन बिताइरहेका परिवारले आज पहिचान र भरोसाको कागज पाएका छन्,” उहाँले भन्नुभयो, “महिला, दलित तथा विपन्न समुदायको जीवनस्तर सुधार गर्न पालिका निरन्तर सक्रिय रहनेछ।” उहाँका अनुसार निस्सा वितरणले सामाजिक न्याय र समावेशीतालाई संस्थागत गर्न सहयोग पुर्याउनेछ।
वडा नं. ४ का अध्यक्ष मनोज शर्माले वडामा रहेका वास्तविक भूमिहीन परिवारको पहिचानपछि मात्रै निस्सा वितरण गरिएको स्पष्ट पार्नुभयो। “यसले नागरिकमा राज्यप्रति भरोसा बढाएको छ,” उहाँले भन्नुभयो, “अब उनीहरूले आफू पनि यस देशका अधिकारप्राप्त नागरिक हौँ भन्ने आत्मसम्मान महसुस गरेका छन्।”
सहायक प्रशासकीय अधिकृत तथा भूमि शाखा प्रमुख भरत महतोका अनुसार विस्तृत तथ्यांक संकलन, प्रमाणीकरण तथा स्थलगत अध्ययनपछि निस्सा वितरण गरिएको हो। “यो निस्साले आगामी दिनमा जग्गा व्यवस्थापन, नापजाँच र लालपुर्जा प्रक्रियालाई सहज बनाउनेछ,” उहाँले बताउनुभयो। उहाँले प्रक्रिया पारदर्शी र चरणबद्ध रूपमा अघि बढाइने जानकारी पनि दिनुभयो।
निस्सा प्राप्त गरेपछि लाभग्राही परिवारहरूमा खुसीयाली छाएको छ। वडा नं. ४ की स्थानीय बासिन्दा रामप्यारी यादवले निस्सा हातमा पाउँदै भावुक हुँदै भन्नुभयो, “हामीजस्ता गरिबका लागि आजको दिन ऐतिहासिक हो। अब हामीलाई पनि स्थायी बसोबासको आशा पलाएको छ।” उहाँले वर्षौंदेखि बस्दै आएको जमिनमा अधिकार पाउने विश्वास जागेको बताउनुभयो।
त्यसैगरी अर्का स्थानीय मोहम्मद सलिम खाँले निस्सा पाएपछि परिवारमा नयाँ उत्साह आएको बताउनुभयो। “पहिले भोलि के हुन्छ भन्ने डर थियो,” उहाँले भन्नुभयो, “अब सरकार हाम्रो साथमा छ भन्ने अनुभूति भयो। यो कागजले हाम्रो भविष्य सुरक्षित हुने आशा दिएको छ।”
कार्यक्रमपछि लाभग्राही परिवारहरू एकआपसमा खुसी साटासाट गर्दै पालिका नेतृत्वप्रति आभार व्यक्त गरेका थिए। निस्सा वितरणले भूमिहीन नागरिकलाई पहिचान मात्र होइन, सम्मान र आत्मविश्वास पनि दिएको सहभागीहरूको भनाइ थियो। स्थानीय तहले थालेको यो अभियानले नरैनापुरमा सामाजिक न्याय, समानता र स्थायित्वको नयाँ अध्याय सुरु गरेको अपेक्षा गरिएको छ।










