९, माघ २०८२
बाँके ।बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। एक अध्ययनअनुसार बाँकेमा औसत रूपमा प्रत्येक १०० जनामध्ये ६.५ जनाको शरीरमा हात्तीपाइले रोगका वयस्क परजीवी रहेका छन्। विशेषज्ञका अनुसार यो सङ्क्रमण दर १ प्रतिशतभन्दा तल नझरेसम्म जोखिम कायमै रहन्छ। एक पटक मानिस सङ्क्रमित भएपछि उपचार नपाएको खण्डमा ४ देखि ६ वर्षसम्म अरूलाई रोग सार्न सक्ने खतरा रहने भएकाले औषधि सेवन अत्यन्त आवश्यक मानिएको छ।
नेपालमा राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान १५औँ पटक सम्पन्न भइसकेको छ। तर बाँके जिल्लामा अझै पनि १५.३६ प्रतिशत नागरिकले एक पटक पनि औषधि सेवन नगरेको तथ्याङ्कले देखाएको छ। औषधि नखानेको प्रतिशत १० भन्दा माथि हुँदा रोग नियन्त्रण चुनौतीपूर्ण हुने विज्ञहरूले बताएका छन्।
यही अवस्थालाई ध्यानमा राख्दै नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १६औँ पटक हात्तीपाइले रोग विरुद्ध औषधि सेवन अभियान सञ्चालन भइरहेको छ। गत वर्ष जिल्लाभर ६२ प्रतिशत नागरिकले औषधि सेवन गरेका थिए भने नेपालगन्ज उपमहानगरपालिकामा मात्र ५६ प्रतिशत कभरेज पुगेको थियो। विशेष गरी नेपालगन्जको वडा नम्बर १६ मा औषधि सेवन दर १४ प्रतिशत मात्र रहेको छ। स्वास्थ्य विज्ञका अनुसार एकै पटक कम्तीमा ८० प्रतिशत नागरिकले औषधि सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव हुँदैन।
अभियानलाई प्रभावकारी र नतिजामुखी बनाउन नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानको अभिमुखीकरण, योजना तथा तर्जुमा गोष्ठी” शीर्षकमा आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले रोगको जोखिम, औषधि सेवनको महत्व र अभियान पुनः सञ्चालन गर्नुपर्ने कारणबारे प्रस्तुतीकरण गर्नुभयो।
त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अभियानको योजना र नगरको वर्तमान अवस्थाबारे जानकारी गराउनुभयो। जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले अभियान सफल बनाउन सबै पक्ष दृढ संकल्पसहित लाग्नुपर्नेमा जोड दिनुभयो। नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यसपटक लक्ष्य हासिल गर्न थप मेहनत र प्रतिबद्धता आवश्यक रहेको बताउँदै औषधि सेवनबारे फैलिएका भ्रम चिर्नु जरुरी रहेको उल्लेख गर्नुभयो।
स्वास्थ्य कार्यालय बाँकेका मलेरिया इन्स्पेक्टर रत्नलाल शर्माको सहजीकरणमा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख सुनिता पौडेलले अभियानको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभयो। कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडा नम्बर ६ का अध्यक्ष समीर प्रताप सिंह लगायतले अभियानलाई सफल बनाउन सबै तहबाट सक्रिय रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।











