छ महिनामा बाँकेमा ८६ नयाँ कुष्ठरोगी पहिचान, जोखिम अझै उच्च

  • नमस्ते कर्णाली

  • ११, माघ २०८२
    बाँके ।बाँके जिल्लामा चालू आर्थिक वर्षको पहिलो छ महिनामा ८६ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । साउनदेखि पुषसम्मको अवधिमा ५७ जना पुरुष र २९ जना महिला गरी ८६ जनामा कुष्ठरोग पुष्टि भएको हो ।
    जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पताल आइएनएफ बाँकेले विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा अस्पताल प्रमुख मंगलबहादुर थारुले यो तथ्याङ्क सार्वजनिक गर्नुभयो । उहाँका अनुसार पहिचान भएका बिरामीमध्ये बाँकेका ३६ जना, बर्दियाका १२ जना, जाजरकोट, रुकुम र कैलालीका पाँच–पाँच जना, अछामका तीन जना, दैलेखका दुई जना, दाङ, प्युठान, रोल्पा र सल्यानका एक–एक जना रहेका छन् भने १४ जना भारतीय नागरिक छन् ।
    २४ शैयाको साइनिङ अस्पतालले सो अवधिमा ९ हजार ८३१ जनालाई बाहिरङ्ग सेवा प्रदान गरेको छ । साथै, स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि अन्य प्रयोगशालाबाट १० हजार ७९५ जनाको परीक्षण गरिएको अस्पतालले जनाएको छ । अपाङ्गता छिटो पहिचान र रोकथामका लागि ७०४ जनाको स्नायु कार्यक्षमता जाँच गरिएको छ भने अपाङ्गताबाट जोगाउन ६९ जनालाई फिजियोथेरापी अभ्यास गराइएको छ ।
    गत आर्थिक वर्षमा बाँकेमा ९३ जना कुष्ठरोगी पहिचान भएका थिए । अस्पताल प्रमुख थारुले बाँकेमा कुष्ठरोगको प्रभाव दर अझै उच्च रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नेपालमा सन् २०१० मै राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण घोषणा भए पनि बाँके जिल्लामा अवस्था अझै चुनौतीपूर्ण देखिएको उहाँको भनाइ छ ।
    यसैबीच, कुष्ठरोगप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतवार विश्व कुष्ठरोग दिवस मनाइँदैछ ।

  • १२ माघ २०८२, आईतवार १२:३४ प्रकाशित

  • Nabintech