अन्तिम चरणमा जानकीको १५ शय्याको अस्पताल, भवनसँगै जनशक्ति सुनिश्चित गर्न स्थानीयको जोड

  • नमस्ते कर्णाली

  • १०, माघ २०८२
    बाँकेको जानकी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल अन्तिम चरणमा पुगेको छ। वर्षौंदेखि सामान्य उपचारका लागि पनि नेपालगञ्ज, कोहलपुर वा सीमापारि भारत जानुपर्ने बाध्यतामा रहेका स्थानीयवासीका लागि यो अस्पताल आशाको केन्द्र बनेको छ। अस्पतालको संरचना लगभग तयार भइसकेपछि गाउँमै स्वास्थ्य सेवा पाउने विश्वास बलियो हुँदै गएको छ।
    ७ हजार २ सय ६३ घरधुरी र ४६ हजार ५ सय ३६ जनसंख्या रहेको जानकी गाउँपालिकामा यसअघि स्वास्थ्य सेवाको पहुँच निकै कमजोर थियो। सानो चोटपटक, ज्वरो, गर्भावस्था जाँचदेखि आकस्मिक अवस्थासम्मका लागि टाढा जानुपर्ने बाध्यता थियो। समयमै उपचार नपाएर ज्यान गुमाएका दर्दनाक घटनाहरू स्थानीयको स्मृतिमा अझै ताजा छन्। यही पीडाले अस्पताल निर्माणको मागलाई अझ बलियो बनाएको थियो। अहिले भने अस्पतालको भवन उभिएसँगै स्थानीयमा भरोसा पलाएको छ।
    गाउँपालिका अध्यक्ष छब्बन खाँले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै अस्पताल भवनसँगै जनशक्ति अनिवार्य रहेकोमा जोड दिनुभयो। “भवन मात्र बनाएर अस्पताल चल्दैन, यहाँ डाक्टर, नर्स, ल्याब टेक्निसियन, फार्मेसी कर्मचारीलगायत आवश्यक जनशक्ति तत्काल व्यवस्थापन हुनुपर्छ,” उहाँले भन्नुभयो। उहाँले संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी अस्पताल सञ्चालनका लागि आवश्यक दरबन्दी स्वीकृत गराउन पहल भइरहेको जानकारी दिनुभयो।
    जानकी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता दिनानाथ यादवका अनुसार अस्पतालको करिब ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। “अब दुई महिनाभित्र भवन हस्तान्तरण हुने तयारीमा छौं,” उहाँले भन्नुभयो। उहाँका अनुसार अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा गाउँमै उपलब्ध हुनेछ, जसले समय, खर्च र जोखिम तीनै कम गर्नेछ।
    प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले अस्पताल सञ्चालनपछि सेवा प्रवाहमा गुणात्मक सुधार आउने विश्वास व्यक्त गर्नुभयो। “अहिले प्राथमिक उपचारका लागि समेत अन्यत्र जानुपर्ने अवस्था छ। अस्पताल सञ्चालनमा आएपछि आपतकालीन सेवा, प्रसूति सेवा, प्रयोगशाला जाँच लगायतका आधारभूत सेवा सहज हुनेछन्,” उहाँले बताउनुभयो। उहाँका अनुसार अस्पतालले ग्रामीण भेगमा स्वास्थ्य सचेतना बढाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ।
    वरिष्ठ लेखा अधिकृत मतिन अन्सारीका अनुसार अस्पताल निर्माणका लागि कुल १७ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। सोही अनुसार करसहित ११ करोड ४४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो। निर्धारित समयभित्रै निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार अब आवश्यक उपकरण जडान र आन्तरिक व्यवस्थापनको काम बाँकी छ।
    स्थानीयवासीहरूले अस्पताल भवन बनेकोमा खुसी व्यक्त गरेका छन्। तर, उनीहरूमा एउटा साझा चिन्ता पनि छ—भवन तयार भए पनि यदि स्वास्थ्यकर्मी नआए भने अस्पताल नाममै सीमित हुने हो कि भन्ने डर। “हामीले अस्पतालको सपना देखेका हौं, खाली भवन होइन,” स्थानीय समाजसेवी रामप्रसाद यादवले भन्नुभयो। उहाँका अनुसार राज्यले भवनसँगै जनशक्ति र उपकरण सुनिश्चित नगरे स्थानीयको अपेक्षा अधुरै रहनेछ।
    जानकी गाउँपालिकाका लागि यो अस्पताल एउटा संरचना मात्र होइन, राज्यको प्रतिबद्धताको परीक्षा पनि हो। ४६ हजारभन्दा बढी नागरिकको जीवनसँग जोडिएको यो अस्पताल जनशक्ति र व्यवस्थापन सुनिश्चित भएमा मात्र व्यवहारिक र प्रभावकारी बन्नेछ। स्थानीयवासीहरू अब अस्पताल सञ्चालनको दिन कुरिरहेका छन्—जहाँ उपचारका लागि टाढा जानुपर्ने बाध्यता इतिहास बन्नेछ भन्ने आशासहित।

  • १२ माघ २०८२, आईतवार १५:३७ प्रकाशित

  • Nabintech