१४, माघ २०८२
बर्दिया ।फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बर्दियामा ५ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। दुई निर्वाचन क्षेत्र रहेको बर्दियामा ३७ राजनीतिक दलका उम्मेदवार र ३ जना स्वतन्त्रसहित कुल ४० जनाले मनोनयन दर्ता गराएका छन्। यसपटकको निर्वाचनमा महिला सहभागिता संख्या कम भए पनि उनीहरूको उम्मेदवारीलाई राजनीतिक सचेतनाको सकारात्मक संकेतका रूपमा हेरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बर्दिया क्षेत्र नम्बर १ बाट जनमुक्ति पार्टीकी चन्द्राकुमारी राजगुरु, मंगोल नेसनल अर्गनाइजेसनकी ज्योति योञ्जन र नेपाल मजदुर किसान पार्टीकी पवित्रा शाहीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी विमला विक र नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) की नीता शर्माले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन्।
महिला उम्मेदवारहरू आफूहरूको उम्मेदवारी केवल प्रतिनिधित्वका लागि मात्र नभई नीति निर्माणमा सक्रिय भूमिकाका लागि भएको बताउँछन्। बर्दिया–१ की उम्मेदवार चन्द्राकुमारी राजगुरुले भनिन्, “महिला पनि नेतृत्व गर्न सक्षम छन् भन्ने कुरा अब प्रमाणित गर्ने समय आएको छ। म विकास, शिक्षा र सामाजिक न्यायका मुद्दा लिएर जनतामाझ गएकी छु।”
त्यस्तै, मंगोल नेसनल अर्गनाइजेसनकी ज्योति योञ्जनले स्थानीय मुद्दालाई प्राथमिकतामा राख्ने बताउँदै भनिन्, “जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधान गर्न महिला नेतृत्व आवश्यक छ। म आवाजविहीन समुदायको आवाज संसदसम्म पुर्याउन चाहन्छु।”
बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी एमालेकी विमला विकले महिला, दलित र विपन्न समुदायको पक्षमा काम गर्ने प्रतिबद्धता जनाइन्। “राजनीतिमा महिलाको संख्या अझै न्यून छ, तर म यो अवस्थालाई बदल्न चाहन्छु। समान अवसर र समावेशी विकास मेरो प्राथमिकता हुनेछ,” उनले भनिन्।
त्यस्तै, नेकपा (संयुक्त) की उम्मेदवार नीता शर्माले राजनीतिमा महिलाको भूमिका मजबुत बनाउने अभियानको रूपमा आफ्नो उम्मेदवारीलाई लिएको बताइन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बर्दिया क्षेत्र नम्बर १ मा २२ जना र क्षेत्र नम्बर २ मा १८ जनाको उम्मेदवारी परेको छ। क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी नेपालबाट मुस्लिम समुदायका अब्दुल खान, स्वतन्त्र उम्मेदवार घनश्याम अधिकारी र मोहन पौडेल, दलित समुदायबाट श्रम संस्कृति पार्टीका धनबहादुर विक, नेपाल मानवतावादी पार्टीका मेघबहादुर कामी र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरबहादुर कामीले उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, जनमत पार्टीलगायतका प्रमुख दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
क्षेत्र नम्बर २ मा पनि राजनीतिक प्रतिस्पर्धा तीव्र देखिन्छ। यहाँ कांग्रेस, एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, रास्वपालगायतका दलका उम्मेदवारहरू मैदानमा छन्। स्वतन्त्रतर्फ नुतनकुमार चौधरी उम्मेदवार बनेका छन् भने श्रम संस्कृति पार्टीबाट मानबहादुर बैगारले पनि उम्मेदवारी दिएका छन्।
यस निर्वाचनमा जनरेशन–जेड (Gen-Z) उमेर समूहका कुनै पनि उम्मेदवारले मनोनयन दर्ता नगरेको तथ्य पनि रोचक छ। सबैभन्दा कम उमेरका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका ३१ वर्षीय मनोज यादव हुन् भने सबैभन्दा बढी उमेरका उम्मेदवार श्रम संस्कृति पार्टीका ७४ वर्षीय दानबहादुर बैगार रहेका छन्। जातीय विविधताका हिसाबले बर्दियामा १ जना मुस्लिम, ५ जना दलित र अन्य विभिन्न समुदायका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचनमा उम्मेदवारको संख्या धेरै भएकाले मत विभाजन हुने सम्भावना उच्च छ। तर महिला उम्मेदवारहरूको उपस्थितिले मतदातामाझ नयाँ बहस र आशा सिर्जना गरेको छ। अब फागुन २१ गते हुने मतदानले बर्दियाको राजनीतिक भविष्य कसको हातमा जाने भन्ने निर्णय गर्नेछ।










