मुलाबाट संसदसम्म : २०७९ को चुनावी गणितले जुम्लामा कसरी उदाए ज्ञानेन्द्र शाही ?

  • नमस्ते कर्णाली

  • १७, माघ २०८२

    जुम्ला।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उदाएका पात्र हुन्—ज्ञानेन्द्र शाही उर्फ ज्ञानबहादुर शाही। अन्य उम्मेदवारले विकासका ठूला–ठूला योजना र आश्वासन बाँडिरहेका बेला शाहीले भने स्थानीय बोली र विषयलाई प्राथमिकतामा राखे। ‘जुम्लाको चोतो (मुला)लाई ब्रान्डिङ गरेर विश्वबजारमा पुर्‍याउने’ जस्ता सरल तर चाखलाग्दा नाराले उनी मतदातामाझ छुट्टै पहिचान बनाउन सफल भए।
    भ्रष्टाचारविरुद्धको चर्को आवाज, स्थानीय भाषामा गरिने भाषण र सिधा बोलीका कारण शाही छोटो समयमै लोकप्रिय बने। भ्रष्टाचारविरोधी अभियान ‘हाम्रो नेपाल हामी नेपाली’ का संयोजक रहिसकेका शाहीले पहिलोपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई जुम्लामा जित दिलाउँदै पाँचदलीय गठबन्धनलाई दोब्बर मतान्तरले पराजित गरे।
    २०७९ को निर्वाचनमा शाहीले २२ हजार ८ सय १९ मत प्राप्त गर्दै माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम (कुँवर) लाई हराए। गौतमले ११ हजार ९ सय ५९ मत मात्रै पाएकी थिइन्। यो परिणामले जुम्लामा राप्रपाको पुनरुत्थान मात्र होइन, परम्परागत दलहरूप्रति बढ्दो असन्तोष पनि उजागर गर्‍यो।
    सिंजा गाउँपालिका–३ पिगी स्थायी घर भएका शाही राजनीतिमा आउनुअघि युट्युबरहरूसहित सरकारी कार्यालयमा पुगेर भ्रष्टाचारविरुद्ध ‘एक्सन’ लिने अभियन्ताका रूपमा चिनिन्थे। आफूलाई चार्टर्ड एकाउन्टेन्ट (सीए) बताउने शाही राप्रपामा समाहित भएपछि राजावादी धारबाट संसदसम्म पुगे।
    गठबन्धन नै बन्यो शाहीको जितको आधार
    शाहीको जितमा पाँचदलीय गठबन्धन आफैं कमजोर कडी बन्यो। कांग्रेस–माओवादी गठबन्धन जुम्लामा रुचाइएको थिएन। गठबन्धनभित्र मत ट्रान्सफर नहुनु, उम्मेदवार चयनमा असन्तुष्टि र आन्तरिक विवादले शाहीलाई प्रत्यक्ष फाइदा पुग्यो।
    माओवादीभित्र पूर्वमन्त्री नरेश भण्डारी र मनऋषि धिताललाई टिकट नदिइ गोमा गौतमलाई उम्मेदवार बनाइएपछि असन्तुष्ट पक्षको ठूलो हिस्सा शाहीतर्फ मोडिएको थियो। धिताल र शाही एउटै गाउँका भए पनि धिताल राजनीतिक रूपमा सिनियर र बलियो जनाधार भएका नेता मानिन्थे। यही असन्तुष्ट मत शाहीको जितको निर्णायक आधार बन्यो।
    त्यस्तै, कांग्रेसभित्र प्रदेशसभा उम्मेदवारीमा बागी उम्मेदवार खडा हुँदा पार्टी दुई धारमा विभाजित भयो। कांग्रेस र माओवादीका कार्यकर्ताले खुलेरै शाहीलाई समर्थन गरे, जसले उनको जित झनै सहज बनायो।
    युवा मत र एमालेको भूमिकाः निर्णायक फ्याक्टर
    शाहीको जितको अर्को बलियो आधार युवापुस्ताको समर्थन थियो। पुराना अनुहारप्रतिको वितृष्णा र नयाँ विकल्पको खोजीमा रहेका युवाहरू सामाजिक सञ्जालमार्फत शाहीको पक्षमा सक्रिय भए। ‘नयाँ अनुहार’ को खोजी गर्ने जुम्लाली मतदाताको मन जित्न शाही सफल भए।
    यसमा एमालेको भूमिकासमेत महत्वपूर्ण रह्यो। २०७९ मा एमालेका उम्मेदवार रतननाथ योगीले प्रत्यक्षतर्फ ६ हजार ५ सय २८ मत मात्र पाए पनि एमालेले समानुपातिकतर्फ १० हजार मत पाएको थियो। यसले एमाले मतदाताले प्रत्यक्षमा शाहीलाई र समानुपातिकमा सूर्य चिन्हमा भोट हालेको संकेत गर्छ।
    यसपटकको चुनावः चुनौती अझै कडा
    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट एक सिटका लागि १० जना उम्मेदवार मैदानमा छन्। एमालेबाट शान्तिलाल महत, कांग्रेसबाट दीपबहादुर शाही उम्मेदवार बनेका छन् भने राप्रपाबाट पुनः ज्ञानेन्द्र शाही मैदानमा छन्।
    २०७९ को अंकगणित हेर्दा जुम्लामा सांगठनिक मतमा एमाले (१०,५४८) पहिलो, कांग्रेस (१०,४७६) दोस्रो र माओवादी–समाजवादी (८,९६०) तेस्रो स्थानमा छन्। राप्रपाको सांगठनिक मत ५,७९६ मात्र छ। यसपटक शाहीलाई यही आधारभन्दा माथि उक्लनुपर्ने चुनौती छ।
    त्यसमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत प्रतिस्पर्धा थप चर्काएको छ। २०७९ मा समानुपातिकबाट सांसद बनेकी विनिता कठायत यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन्।
    सांसद नदोहोर्‍याउने जुम्लाको परम्परा
    जुम्ला यस्तो जिल्ला हो, जहाँ मतदाताले अहिलेसम्म कसैलाई पनि दोस्रोपटक सांसद बनाएका छैनन्। २०६४ मा संविधानसभा सदस्य बनेका नरेश भण्डारी र २०७९ मा सांसद बनेका ज्ञानेन्द्र शाही दुवै यसपटक पुनः संसद छिर्ने दाउमा छन्। जुम्लाली मतदाताले आफ्नो पुरानो परम्परा तोड्छन् कि नयाँ निर्णय गर्छन्—यो प्रश्नले यसपटकको चुनावलाई झनै रोचक बनाएको छ।

  • १८ माघ २०८२, शनिबार ०८:४८ प्रकाशित

  • Nabintech