दाङमा क्यान्सर रोकथाम र स्वास्थ्य परीक्षणमा जोड महिलाका लागि निःशुल्क परीक्षण उपलब्ध

  • नमस्ते कर्णाली

  • २१, माघ २०८२
    दाङ । आफूलाई क्यान्सर भएरनभएको पत्ता लगाउन नियमित परीक्षण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागी जोड दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा यहाँ भएको ‘नेपालमा क्यान्सर नियन्त्रण, विद्यमान अवस्था, चुनौती र भावी कार्यदिशा’सम्बन्धी छलफल कार्यक्रमका सहभागीले नियमित स्वास्थ्य परीक्षण क्यान्सर पत्ता लगाउने प्रमुख माध्यम भएको बताएका हुन् ।
    दाङमा पनि क्यान्सरका बिरामी पत्ता लाग्ने क्रम बढेको बताइएको छ । नसर्ने रोगअन्तर्गत क्यान्सरको समस्या दिनप्रतिदिन बढ्दै गएको सरोकार भएकाहरूले बताएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका डा विकास गौचनले क्यान्सर भए÷नभएको पत्ता लगाउन समयसमयमा परीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले क्यान्सरबाट बच्नका लागि खानपान, जीवन शैलीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शङ्का लागेपछि उपचार गर्नुभन्दा रोग नलाग्दै उपचार गर्नुपर्ने धारणा राख्नुभयो । क्यान्सरबाट बाच्नका लागि सुर्तीजन्य पदार्थ सेवन गर्न नहुने उहाँको भनाइ छ ।
    स्वास्थ्य कार्यालय दाङका पब्लिकहेल्थकर्मी रीता पौडेलले नेपालमा फोक्सोको क्यान्सर हुने कारणमा धुवाँ धुलो, वातावरण प्रदूषणलगायत कारणले हुने गरेको बताउनुभयो । नेपालमा महिलामा हुने पाठेघरको मुखको क्यान्सरको दर १९ प्रतिशत रहेको जानकारी दिनुभयो ।
    दाङमा पाठेघरको मुखको क्यान्सरबाट बच्न ३० देखि ६० वर्षका महिलाको स्वास्थ्य परीक्षणलाई दुई वर्षदेखि निरन्तर दिइरहेको उहाँले बताउनुभयो । स्थानीय तहसँगको समन्वयमा भिआइए प्रविधिबाट परीक्षण हुने भएकाले ढुक्कसँग परीक्षण गराउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
    दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल, लमहीस्थित लमही अस्पताल र गढवामा रहेको गढवा स्वास्थ्यचौकीमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण भइरहेको पब्लिकहेल्थकर्मी पौडेलले जानकारी दिनुभयो ।
    घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले महिलाका लागि निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार संस्थागत परिवार क्लिनिकमा महिलासम्बन्धी सबै किसिमका उपचार निःशुल्क हुने गरेका छन् ।
    स्वास्थ्य कार्यालय दाङबाट गत वर्ष १५१ जनाले क्यान्सर उपचारको सिफारिस लिएका थिए । यो वर्ष ५६ जनाले सिफारिस लिएका कार्यालयका जनस्वास्थ्य निरीक्षक कुन्दन ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि कक्षा ६ देखि १२ कक्षासम्मका किशोरीलाई एचपिभी खोप लगाउने गरेको छ ।

  • २३ माघ २०८२, बिहीबार १७:२२ प्रकाशित

  • Nabintech