मुगुको सोरुमा अज्ञात रोगको प्रकोप : दुई सयभन्दा बढी भेडाबाख्रा मरे, किसान संकटमा

  • नमस्ते कर्णाली

  • २३, माघ २०८२
    मुगु ।मुगु जिल्लाको सोरु क्षेत्रमा फैलिएको अज्ञात रोगका कारण दुई सयभन्दा बढी भेडा–बाख्रा मरेपछि स्थानीय किसान गम्भीर संकटमा परेका छन्। सोरु गाउँपालिका वडा नं. १० र ११ अन्तर्गत पर्ने दई, कोटवाडा, धैन, लोली, तलिवडा, हितवाडा, रोकयावाडा र कोट गाउँलगायतका क्षेत्रमा पछिल्लो एक महिनादेखि रोग फैलिँदै आएको हो।
    भेडा तथा बाख्रा पालनमा आत्मनिर्भर मानिने सोरु क्षेत्रमा विशेषगरी वडा नं. १० र ११ का दर्जनौँ गाउँका किसान यही पेशामा निर्भर छन्। तर, अज्ञात रोगको प्रकोपले किसानको आम्दानीको मुख्य स्रोत नै संकटमा परेको छ। स्थानीयका अनुसार ती दुई वडामा मात्र करिब १५ सयदेखि दुई हजारसम्म भेडा–बाख्रा रहेका छन्।
    पछिल्ला केही दिनयता दैनिक १० देखि १२ वटासम्म भेडा–बाख्रा मर्न थालेपछि किसान थप चिन्तित बनेका छन्। रोग लागेका पशुमा फोक्सोमा पिप जम्ने, शरीरभरि पानीका फोका देखिने, कपाल सुन्निने, दुर्गन्धयुक्त दिसा आउने, दुब्लिँदै जाने, खोकी लाग्ने, पातलो दिसा हुने, काप्ने तथा लुतो लाग्ने जस्ता लक्षण देखिने गरेको किसानहरूले बताएका छन्। यस्ता लक्षण देखिएको केही समयमै पशु मर्ने गरेको स्थानीयको भनाइ छ।
    स्थानीय भेडा गोठाला रतन मल्लका अनुसार आफूले पालेका ८० भेडामध्ये १० वटा भेडा यस्तै लक्षण देखिएपछि मरेका छन्। “भेडा पालनबाटै परिवार पाल्दै आएका थियौँ, अहिले एक्कासि भेडा मर्न थालेपछि निकै चिन्ता बढेको छ,” उहाँले भन्नुभयो।
    अर्का गोठाला पुन्न मल्लका ६० भेडामध्ये ९ वटा भेडा मरेका छन्। त्यस्तै, बाख्रा पालक काईचन्द्र देवकोटाका १५० बाख्रामध्ये २० वटा मरेका छन्। यसैगरी प्रदीप प्याकुरेलका ४५ मध्ये १० वटा, परेकलाल जैसीका ५० मध्ये ६ वटा र कबे जैसीका ४० मध्ये ७ वटा बाख्रा रोगका कारण मरेको स्थानीयले बताएका छन्। यसरी सोरुका किसानका दुई सयभन्दा बढी भेडा–बाख्रा मरेपछि ठूलो आर्थिक क्षति भएको छ।
    भेडा–बाख्रा पालनबाटै घरखर्च, दैनिक जीवनयापन तथा बालबालिकाको शिक्षाको खर्च जुटाउँदै आएका किसानहरू अहिले गम्भीर समस्यामा परेका छन्। किसान प्रदीप प्याकुरेलले भेडा–बाख्रा मरेपछि परिवार कसरी पाल्ने र छोराछोरीको पढाइ कसरी निरन्तरता दिने भन्ने चिन्ताले सताएको बताउनुभयो।
    समयमै जानकारी नहुँदा समस्या जटिल
    दुर्गम भूगोलका कारण सोरु क्षेत्रमा फैलिएको अज्ञात रोगबारे सम्बन्धित निकायलाई समयमै जानकारी नपुग्दा नियन्त्रणका प्रयास हुन नसकेको स्थानीयको गुनासो छ। स्थानीय भेडा पालक किसान देवीभक्त प्याकुरेलका अनुसार रोग के हो, कसरी नियन्त्रण गर्ने भन्नेबारे किसान अनभिज्ञ छन्।
    “गाउँभरिका भेडा मरेपछि किसान पीडादायक अवस्थाबाट गुज्रिरहेका छन्। कुन रोग लाग्यो, कसरी नियन्त्रण गर्ने भन्ने जानकारी छैन। नजिकै पशु स्वास्थ्य सेवा केन्द्र पनि छैन, सदरमुकाम गमगडी पुग्न एक दिन लाग्छ। अहिलेसम्म कुनै परीक्षण भएको छैन,” उहाँले भन्नुभयो।
    सोरु क्षेत्रबाट सदरमुकाम गमगडी पुग्न एक दिनभन्दा बढी समय लाग्ने भएकाले समयमै उपचार तथा परीक्षण हुन नसकेको स्थानीयको भनाइ छ। रोग नियन्त्रण नहुँदा किसानको आम्दानीको स्रोत खोसिँदै गएको उनीहरू बताउँछन्।
    सरोकारवालाप्रति किसानको असन्तुष्टि
    यति ठूलो क्षति हुँदा पनि सोरु गाउँपालिकाको पशु स्वास्थ्य शाखा र जिल्ला पशु सेवा कार्यालयले समयमै चासो नदिएको भन्दै किसानले असन्तुष्टि व्यक्त गरेका छन्। यद्यपि पालिका र जिल्ला स्तरका निकायले भने समयमै जानकारी नपाएको जनाएको छ।
    स्थानीय किसानहरूले तत्काल पशु चिकित्सकसहितको प्राविधिक टोली परिचालन गरी रोगको पहिचान, नियन्त्रण र प्रभावित किसानलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले समयमै उपचार र सहयोग नपाए भेडा–बाख्रा पालन व्यवसाय नै संकटमा पर्ने चेतावनी दिएका छन्।

  • २४ माघ २०८२, शुक्रबार ०८:०४ प्रकाशित

  • Nabintech