दैलेखमा ३० मेगावाटको डुल्लु–मालिका सोलार आयोजना निर्माण हुँदै, अध्ययन प्रक्रिया सुरु

  • नमस्ते कर्णाली

  • २३, माघ २०८२

    कर्णाली ।सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनी लिमिटेडले दैलेखमा ३० मेगावाट क्षमताको डुल्लु–मालिका सोलार आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ। जलविद्युत् आयोजना निर्माणलाई मुख्य उद्देश्य बनाएर स्थापना भएको कम्पनीले पछिल्लो समय नवीकरणीय ऊर्जाको विविधिकरण गर्दै सौर्य ऊर्जा क्षेत्रमा पनि लगानी विस्तार गर्न लागेको हो।
    कम्पनीले प्रस्तावित आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) अध्ययनका लागि परामर्श सेवा प्रदान गर्ने जिम्मेवारी नेपाल विद्युत प्राधिकरण अन्तर्गतको एनईए इन्जिनियरिङ कम्पनीलाई दिएको छ। आयोजना अध्ययन कार्य जिटुजी (सरकार–सरकार) मोडलमार्फत अघि बढाइएको कम्पनीले जनाएको छ।
    विद्युत उत्पादन कम्पनीका अनुसार डुल्लु–मालिका सोलार आयोजना दैलेखको दुल्लु नगरपालिका–१३ मा निर्माण गर्ने योजना छ। आयोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न भइसकेको र आयोजना सम्भाव्य देखिएपछि विस्तृत अध्ययन प्रक्रिया अघि बढाइएको कम्पनीकी प्रवक्ता योगिता पन्तले जानकारी दिइन्। उनका अनुसार आयोजना सम्बन्धी डीपीआर तथा आईईई अध्ययन नौ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
    आयोजनाको अध्ययन अघि बढाउन कम्पनीले स्थानीय प्रमोटर तथा सरोकारवालासँग छलफल समेत गरेको थियो। प्रमोटर तथा स्थानीय पक्षबाट आयोजना निर्माणमा सहमति जनाएपछि मात्रै परामर्शदाता छनोट प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ। विभिन्न कम्पनीसँग प्रस्ताव माग गरिएकामा सबैभन्दा प्रतिस्पर्धी प्रस्ताव पेश गर्ने एनईए इन्जिनियरिङ कम्पनीलाई जिम्मेवारी दिइएको हो।
    प्रस्तावित आयोजना निर्माणका लागि करिब ६०० रोपनी जग्गा आवश्यक पर्ने अनुमान गरिएको छ। सो आयोजना विद्यालयको स्वामित्वमा रहेको जग्गा लिजमा लिएर निर्माण गर्ने योजना कम्पनीले अघि सारेको छ। आयोजना सञ्चालनमा आएपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको चुप्रा सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।
    आयोजनाबाट उत्पादन हुने विद्युत प्रसारणका लागि १३२ केभी क्षमताको करिब ५ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्नेछ। सो प्रसारण लाइन निर्माण पनि आयोजनाको महत्वपूर्ण पूर्वाधारका रूपमा रहने कम्पनीले जनाएको छ।
    यद्यपि आयोजना निर्माणका लागि आवश्यक विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भने हालसम्म सम्पन्न भएको छैन। नेपाल विद्युत प्राधिकरणले सौर्य आयोजनाबाट उत्पादन हुने विद्युत प्रतिस्पर्धी दरमा खरिद गर्न टेण्डर प्रणालीमार्फत पीपीए गर्ने अभ्यास रहेकाले अध्ययन सम्पन्न भएपछि सो प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
    आयोजनाबाट वार्षिक करिब ४७ दशमलव ५७५ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ। आयोजना आर्थिक रूपमा पनि सम्भाव्य देखिएको कम्पनीले जनाएको छ। प्रारम्भिक अध्ययनअनुसार आयोजनाको आन्तरिक प्रतिफल दर (आईआरआर) १३ दशमलव ५३ प्रतिशत र लगानी प्रतिफल (आरओई) १७ दशमलव १६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
    यस आयोजनामा विद्युत उत्पादन कम्पनीको करिब ७० प्रतिशत इक्विटी लगानी रहनेछ भने बाँकी लगानी अन्य साझेदारबाट जुटाइने योजना रहेको छ। आयोजनाको प्रारम्भिक लागत करिब १ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको कम्पनीले जनाएको छ।
    ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा विद्युत उत्पादन स्रोत विविधिकरण गर्ने उद्देश्यले कम्पनीले जलाशययुक्त र आरओआर (रन अफ द रिभर) प्रकृतिका आधा दर्जनभन्दा बढी जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ। जलविद्युतसँगै सौर्य ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने रणनीतिअनुसार डुल्लु–मालिका सोलार आयोजना अघि बढाइएको कम्पनीले जनाएको छ।
    सरकारले ऊर्जा मिश्रण सन्तुलन गर्दै सुख्खायाममा देखिने विद्युत अभाव न्यूनीकरण गर्न सौर्य ऊर्जालाई प्राथमिकता दिँदै आएको छ। सोही नीति अनुरूप सरकारी स्वामित्वकै कम्पनीमार्फत ठूला क्षमताका सौर्य आयोजना निर्माण हुन लागेकाले ऊर्जा सुरक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

  • २४ माघ २०८२, शुक्रबार ०८:०९ प्रकाशित

  • Nabintech