२६, माघ २०८२
बाँके ।बाँके जिल्लामा पछिल्ला केही दिनयता अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ। गत साता परेको वर्षा तथा पहाडी र हिमाली जिल्लामा भएको हिमपातका कारण चिसो पुनः बढ्दा सर्वसाधारणलाई दैनिक जीवन सञ्चालन गर्न कठिनाइ हुन थालेको हो।
माघको दोस्रो सातामा केही कम भएको चिसो पुनः बढ्दै गएपछि घरबाहिर निस्कन समेत समस्या भएको स्थानीयले बताएका छन्। नेपालगन्ज–२ का स्थानीय रामप्रसाद श्रेष्ठले चिसोका कारण दैनिक कामकाज प्रभावित भएको बताउनुभयो।
“अघिल्लो साता चिसो केही कम भएको थियो, अहिले फेरि बढेपछि घरबाहिर निस्कनै गाह्रो भएको छ। बिहान र बेलुका झनै कठ्याङ्ग्रिने चिसोले सामान्य काम गर्न पनि समस्या भएको छ,” श्रेष्ठले भन्नुभयो।
त्यस्तै नेपालगन्जको त्रिभुवन चोकका व्यापारी अतुल गुप्ताका अनुसार चिसो बढेसँगै बजारमा मानिसको चहलपहल घटेको छ। उहाँले चिसोका कारण व्यापार–व्यवसायमा समेत असर परेको बताउनुभयो। उहाँका अनुसार सडकमा रिक्सा बाहेक अन्य सवारी साधनको सञ्चालन घटेको छ भने गरिब तथा विपन्न वर्गलाई दैनिक ज्यालादारी काम गर्न झनै कठिन भएको छ।
चिसो बढेसँगै जिल्लामा मौसमी भाइरल फ्लुका बिरामीको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार ज्वरो, रुघाखोकी, निमोनिया तथा कोल्ड डायरियालगायत रोगका बिरामी बढेका छन्।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले चिसो बढेसँगै जिल्लाका विभिन्न स्थानमा भाइरल फ्लु देखिन थालेको भन्दै सर्वसाधारणलाई स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ।
भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा. सङ्केतकुमार रिसालका अनुसार पछिल्लो समय उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने, नाक पोल्ने, सिँगान बग्ने तथा पखालाजस्ता लक्षण भएका बिरामी अस्पतालमा बढी आउने गरेका छन्।
यसैगरी सञ्जिविनी अस्पताल नेपालगन्जका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किदवाईले पनि भाइरल फ्लुका बिरामीको चाप पुनः बढेको बताउनुभयो। उहाँका अनुसार भाइरल फ्लुबाट प्रभावित हुनेहरूमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेका छन्।
स्वास्थ्यकर्मीहरूले चिसोबाट बच्न न्यानो कपडा लगाउने, भीडभाडबाट जोगिने, सफा पानी तथा पोषिलो खानेकुरा सेवन गर्ने र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन सर्वसाधारणलाई आग्रह गरेका छन्।











