बर्दिया,६ फाल्गुन।
भारत–नेपाल सीमावर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेपछि भारतीय पक्षले कडा कदम चालेको छ। भारतको बहराइचस्थित कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्र अन्तर्गत धर्मापुर रेन्जपोष्टले घाँस काट्न, दाउरा बटुल्न तथा चरिचरनका लागि नेपाली नागरिकलाई जंगल प्रवेशमा रोक लगाएको जनाएको छ।
वन विभाग, धर्मापुरका वनकर्मी संजय मिश्राका अनुसार पछिल्लो समय जंगलमा घाँस–दाउरा गर्न गएका सर्वसाधारणमाथि बाघ, चितुवा र हात्तीको आक्रमण बढेको छ। “वन्यजन्तुको आक्रमणबाट ज्यानै जाने घटना बढ्न थालेपछि सुरक्षाका लागि प्रवेशमा रोक लगाउन बाध्य भएका हौं,” उनले बताए।
उनका अनुसार कतरनियाघाट क्षेत्रमा बाघ, चितुवा र हात्तीको संख्या वृद्धि भइरहेको छ। सीमावर्ती बस्तीमा समेत वनबाट निस्किएका चितुवाले कुकुरसहित घरपालुवा जनावरमाथि आक्रमण गर्ने क्रम बढेको छ। साँझ परेपछि चितुवा बस्तीमा पसेर आतंक मच्चाउने गरेको स्थानीयको गुनासो छ।
मधुवन नगरपालिकाकी सूचना सुनारका अनुसार यसअघि भारतीय वन प्रशासनले पुरुषलाई मात्र प्रवेशमा रोक लगाएको थियो। “पहिले महिलालाई घाँस–दाउरा ल्याउन दिइन्थ्यो, तर अहिले बाघ, चितुवा र हात्तीको त्रासका कारण पूर्ण रूपमा रोक लगाइएको छ,” उनले भनिन्।
सीमामा खटिएको सशस्त्र प्रहरी बीओपी तारातालका एक अधिकारीले पनि भारतीय वन क्षेत्रमा वन्यजन्तुको जोखिम बढेकाले नजान आग्रह गर्दा पनि कतिपय स्थानीयले बेवास्ता गर्ने गरेको बताए। सोही कारण भारतीय वन अधिकारीहरूले कडा प्रतिबन्ध लगाएको उनको भनाइ छ।
सीमावर्ती बासिन्दाको दैनिकी प्रभावित
घाँस, दाउरा र चरिचरनमा रोक लगाएपछि बर्दियाका सीमावर्ती गाउँका बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। यस क्षेत्रमा पर्याप्त वन क्षेत्र नभएकाले स्थानीय किसान वर्षौंदेखि भारतीय जंगलमा निर्भर रहँदै आएका थिए।
स्थानीयका अनुसार भारतीय जंगलमा घाँस–दाउरा तथा चरिचरनका लागि जाँदा नेपालीले वनका मुन्सी तथा कर्मचारीलाई खाद्यान्न बुझाउने चलन समेत थियो। तर हालको प्रतिबन्धले दैनिक जीवनयापनमा समस्या थपिएको छ।
सीमावर्ती बासिन्दाले वैकल्पिक व्यवस्था मिलाउन दुवै देशका सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताएका छन्। वन्यजन्तु संरक्षणसँगै स्थानीयको जीविकोपार्जन सुरक्षित गर्ने उपाय खोज्नुपर्ने उनीहरूको माग छ।










