वन नीतिको बहानामा ढिलाइ, बड्डिचौर–खम्बागाडे सडक अझै अधुरै

  • नमस्ते कर्णाली

  • ७, फाल्गुन २०८२
    सुर्खेत ।राष्ट्रिय प्राथमिकता प्राप्त मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने बड्डिचौर–खम्बागाडे सडक स्तरोन्नति आयोजना तोकिएको समयसीमाभन्दा एक वर्ष ढिलो हुँदा पनि अझै अधुरै अवस्थामा रहेको छ। सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित बड्डिचौरदेखि पञ्चपुरी नगरपालिकाको सिमावर्ती क्षेत्र खम्बागाडेसम्म फैलिएको १३ किलोमिटर सडक २०८१ असारमै सम्पन्न हुने लक्ष्य राखिए पनि हालसम्म ५० प्रतिशत भौतिक प्रगति मात्र भएको बताइएको छ।
    २०७९ असार १४ गते पूर्वाधार विकास निर्देशनालय सुर्खेत र निर्माण कम्पनी अनक/जयदेवी जेभी बाँकेबीच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। ५ साउन २०७९ मा बड्डिचौरमा डोजर चलाएर तत्कालीन संघीय सांसद दिक्पालकुमार शाहीले स्तरोन्नतिको काम शुभारम्भ गरेका थिए। सुरुमा जयदेवी कम्पनीले अनकसँग संयुक्त रूपमा ठेक्का हात पारेको थियो। तर, फिल्डस्तरमा काम प्रभावकारी नभएको भन्दै आलोचना बढेपछि जयदेवीले पछि हात झिकेको र हाल अनकले एक्लै काम अघि बढाइरहेको छ।
    सुरुका दिनमा रुख कटान, जग्गाभोगाधिकार र वनसम्बन्धी कानुनी जटिलताका कारण लामो समय ‘साइड क्लियर’ हुन नसक्दा निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि शंकर रावतको दाबी छ। उनका अनुसार हाल माटो कटिङ, टेवा पर्खाल निर्माण, कल्भर्ट राख्ने, ग्राभेल बिछ्याउने तथा तारजाली लगाउने काम तीव्र रूपमा भइरहेको छ। हालसम्म १० करोडभन्दा बढी भुक्तानी भइसकेको र ५० प्रतिशत भौतिक प्रगति हासिल गरिएको उनको भनाइ छ। आगामी जेठसम्म ६ किलोमिटर सडक कालोपत्रे गर्ने र त्यसपछि बाँकी ७ किलोमिटरको काम पनि चाँडै सम्पन्न गर्ने योजना रहेको उनले बताए।
    तर, स्थानीयवासी भने निर्माणको गति सन्तोषजनक नभएको बताउँछन्। बड्डिचौरलाई शून्य बिन्दु मानेर तीन वर्षअघि संघीय सरकारले डीपीआर तयार पारे पनि कार्यान्वयनमा सुस्तता देखिएको भन्दै प्रदेश सरकारले सडक कालोपत्रेको जिम्मा लिएको थियो। तीन दशकअघि २०५१ सालमा सुरु भएको सुर्खेत–बाबियाचौर–बेनीघाट सडक खण्डको स्तरोन्नति अझै पूरा नहुँदा पश्चिम सुर्खेतका नागरिक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन्।
    साँघुरो सडक, खाल्डाखुल्डी र खोलाका कारण यात्रा जोखिमपूर्ण बन्दै आएको छ। चौकुने गाउँपालिकाबाट सुर्खेत पुग्न सहज अवस्थामा तीन घण्टा लाग्ने दूरी अहिले एक दिनसम्म लाग्ने अवस्था रहेको स्थानीयको गुनासो छ। वर्षायाममा एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था हुँदा बिरामी र गर्भवती महिलाले ठूलो सास्ती भोग्नुपरेको छ। यस सडकखण्डमा कैयौँले ज्यान गुमाएको तथ्यसमेत स्थानीयले स्मरण गराउँछन्।
    निर्माण कार्यले अपेक्षित गति नलिएपछि पूर्वाधार विकास निर्देशनालय सुर्खेतले निर्माण व्यवसायीलाई ताकेता गरेको छ। निर्देशक सूर्यबहादुर शाहीका अनुसार दोस्रो पटक थपिएको म्यादअनुसार आगामी २ जेठ २०८२ भित्र काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म लक्ष्यअनुसार प्रगति नभएको पाइएपछि चेतावनी दिइएको हो। निर्देशनालयले पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि पर्याप्त स्रोत–साधन परिचालन नगरेको भन्दै असन्तुष्टि जनाएको छ।
    सम्झौताअनुसार कार्य सम्पन्न नगरे प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत दिइएको छ। वर्षौँदेखि स्तरोन्नतिको प्रतीक्षामा रहेको यस सडकले समयमै पूर्णता नपाए पश्चिम सुर्खेतको विकास र जनजीवनमा थप असर पर्ने स्थानीयको चिन्ता छ। अब भने निर्माण कम्पनीले दिएको प्रतिबद्धता व्यवहारमा कति रूपान्तरण हुन्छ भन्नेमा सबैको नजर केन्द्रित भएको छ।

  • ७ फाल्गुन २०८२, बिहीबार ०७:०४ प्रकाशित

  • Nabintech