१८, फाल्गुन २०८२
बर्दिया । खाता जैविक मार्ग हुँदै वन्यजन्तुको आवागमन बढ्दै जाँदा स्थानीय बासिन्दाले अन्नबाली, पशुपालन र घरमा क्षति भोग्दै आएका छन्। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सरकार तथा विभिन्न संस्थाले वैकल्पिक आयआर्जन र सुरक्षात्मक कार्यक्रम सञ्चालन गर्दै आएका छन्, जसले स्थानीयको जीविकोपार्जनमा उल्लेखनीय टेवा पुर्याएको छ।
मधुवन नगरपालिका–३ स्थित खाता संरक्षित क्षेत्रले बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षसँग जोड्ने जैविक मार्गको काम गर्छ। यही मार्ग हुँदै नेपाल–भारत वन्यजन्तु ओहोरदोहोर गर्ने भएकाले मध्यवर्ती क्षेत्रमा अन्नबाली र मानवीय क्षति बढ्ने गरेको छ।
मधुवन–३ भगरैयाका सुमन गिरीका अनुसार जैविक मार्ग घोषणा हुनुअघि यहाँ पर्याप्त अन्नबाली उत्पादन हुन्थ्यो। “करिडोर घोषणा भएपछि वन्यजन्तुको संख्या बढेको छ। बाली लगायो भने सखाप पार्छन्,” उनले भने, “त्यसैले अहिले माछापालनतर्फ लागेर आम्दानी गरिरहेको छु।”
सुरक्षित खोर र सीपमूलक तालिमले राहत
पहिले सुरक्षित खोरको अभावमा चितुवाले बाख्रा र बंगुर मार्ने गरेको मधुवन–३ की शर्मिला थारु बताउँछिन्। “मेरै तीन बंगुर र चार बाख्रा चितुवाले मारेको थियो,” उनले भनिन्, “अहिले सुरक्षित खोर बनाएपछि क्षति घटेको छ।” बस्ती नजिक चितुवाको उपस्थिति अझै देखिए पनि सुधारिएको खोरले जोखिम कम गरेको स्थानीयको भनाइ छ।
स्थानीयले वन संरक्षणलाई निरन्तरता दिँदै आएका छन्। खाताका कर्णबहादुर थारुले वन जंगल दैनिक जीवनसँग जोडिएको उल्लेख गर्दै वन्यजन्तु बस्ती पस्न नदिन प्रभावकारी नीति र तारबार आवश्यक रहेको बताए।
खाता सामुदायिक वन समन्वय समिति अन्तर्गत ३६ सामुदायिक वन र तीन धार्मिक वन रहेका छन्। उपाध्यक्ष भदै थारुका अनुसार बेरोजगार युवालाई स्वरोजगार बनाउन चिप्स र मिठाइ बनाउने, प्लम्बिङ, टायल जडान, कपाल काट्ने, ड्राइभिङ र साइकल मर्मतजस्ता सीपमूलक तालिम सञ्चालन गरिएको छ। वन्यजन्तुबाट अन्नबालीमा हुने क्षति कम गर्न माछापालन, बेसार र मेन्था खेतीमा समेत सहयोग गरिएको छ। यद्यपि मेन्था र बेसारको बजारीकरणमा समस्या देखिएको उनले बताए।
लघु घर बिमाबाट क्षतिपूर्ति
खाता जैविक मार्ग हुँदै आउने जंगली हात्तीले घर भत्काउने समस्या बढेपछि तराई भू–परिधि तथा संरक्षण कार्यक्रम, कोहलपुरको आर्थिक सहयोगमा तीन वर्षदेखि लघु घर बिमा कार्यक्रम सञ्चालनमा छ। खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङका अनुसार मधुवन–१ देखि ५, राजापुर नगरपालिका–१० र ठाकुरबाबा नगरपालिकाका केही वडाका ४ हजार ६ सय ८४ घरधुरीको बिमा गरिएको छ।
आर्थिक वर्ष २०७९/०८० यता जंगली हात्ती र दैवीप्रकोपबाट क्षति भएका ३० घरधुरीलाई ७ लाख ९४ हजार ८४ रुपैयाँ राहत उपलब्ध गराइएको छ। प्रतिघरधुरी ९५ रुपैयाँ शुल्क लाग्ने यस कार्यक्रममा हालसम्म १३ लाख ३४ हजार ९ सय ४० रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिए।
महिलामा उद्यमशीलता
मधुवन–३ की समिना चौधरीले सीपमूलक सहयोगपछि सिलाइकटाइबाट मासिक करिब २५ हजार रुपैयाँ आम्दानी गरिरहेकी छन्। १३ वर्षअघि सीप सिके पनि लगानी अभावका कारण व्यवसाय विस्तार गर्न नसकेकी उनले खाता समन्वय समितिबाट मेसिन, इन्टरलक र आइरन पाएपछि सहज भएको बताइन्। थारु समुदायका महिलाले लगाउने एक जोडी लेहङ्गा–चोलिया सिलाउँदा ८ हजार रुपैयाँ पारिश्रमिक लिने र एक जोडा तयार गर्न पाँच दिन लाग्ने उनले जानकारी दिइन्।
स्थानीय सरकार र संरक्षण संस्थाको सहकार्यमा सञ्चालन भएका सुरक्षित खोर, लघु घर बिमा, सीपमूलक तालिम र वैकल्पिक खेतीजस्ता कार्यक्रमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँगै स्थानीयको आयआर्जनमा सकारात्मक प्रभाव पारेको सरोकारवालाहरू बताउँछन्।











