२५, फाल्गुन २०८२
कर्णाली ।कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार कर्णालीमा नेपाली कांग्रेस पहिलो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोस्रो शक्ति बनेका छन्।
निर्वाचन परिणामअनुसार नेपाली कांग्रेसले पाँच सिट जित्दै प्रदेशमा पहिलो दल बनेको छ भने नेकपाले चार सिट जितेर दोस्रो स्थान हासिल गरेको छ। आफुलाई कर्णालीमा बलियो संगठन र मत रहेको दाबी गर्दै आएको नेकपा एमाले भने एक सिटमा सीमित भएको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशभर कमजोर प्रदर्शन गरे पनि कर्णालीबाट एक सिट जित्दै आफ्नो साख जोगाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि कर्णालीबाट पहिलो पटक प्रतिनिधिसभामा जित निकाल्न सफल भएको छ।
कांग्रेसका पाँच सांसद निर्वाचित
नेपाली कांग्रेसले हुम्ला, मुगु, दैलेख–१, जाजरकोट र सुर्खेत–१ मा जित हासिल गरेको छ।
हुम्लाबाट जयपति रोकाया, मुगुबाट खड्ग शाही, दैलेख–१ बाट वासना थापा, जाजरकोटबाट खडकबहादुर विसी र सुर्खेत–१ बाट विष्णुबहादुर खड्का निर्वाचित भएका छन्।
यद्यपि कांग्रेसका केही प्रभावशाली नेताहरू भने पराजित भएका छन्। सुर्खेत–२ बाट लडेका नारायणकुमार कोइराला रास्वपाका उम्मेदवारसँग पराजित भए। सल्यानबाट जिल्ला सभापति केशबहादुर विष्ट, रुकुम पश्चिमबाट राजु केसी, डोल्पाबाट सहमहामन्त्री कर्णबहादुर बुढा तथा कालीकोटबाट हर्ष बम नेकपासँग पराजित भएका छन्। जुम्लामा कांग्रेसका दीपबहादुर शाही राप्रपाका उम्मेदवारसँग हार व्यहोरे।
दैलेख–२ मा कांग्रेसका दिक्पालकुमार शाही एमालेका उम्मेदवारसँग पराजित भए। २०७९ को निर्वाचनमा एमालेका लक्ष्मीप्रसाद पोखरेललाई झिनो मतान्तरले हराएका शाही यसपटक भने उनैसँग पराजित भएका हुन्।
नेकपाको चार क्षेत्रमा विजय
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सल्यान, रुकुम पश्चिम, कालीकोट र डोल्पामा जित हासिल गरेको छ।
डोल्पाबाट पूर्व समाजवादी नेता धनबहादुर बुढा निर्वाचित भएका छन्। यो उनको चौथो संसदीय जित हो। २०७० यताका सबै निर्वाचनमा विजयी हुँदै आएका बुढा यसअघि एमालेबाट चुनाव लड्दै आएका थिए भने पछि नेकपा (एकीकृत समाजवादी) मा पुगेका थिए। अहिले पुनर्गठित नेकपाबाट उनले जित निकालेका हुन्।
डोल्पामा यो पटक दाजुभाइबीच रोचक प्रतिस्पर्धा भएको थियो। कांग्रेसका सहमहामन्त्री कर्णबहादुर बुढा र नेकपाका धनबहादुर बुढा सहोदर दाजुभाइ हुन्। तर उक्त प्रतिस्पर्धामा भाइ धनबहादुर विजयी हुँदा कर्णबहादुर तेस्रो स्थानमा सीमित भए।
त्यस्तै कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भएका छन्। प्रतिनिधिसभामा उनको यो तेस्रो जित हो। उनी २०७४ मा कर्णाली प्रदेशसभाबाट निर्वाचित भई प्रदेशको पहिलो मुख्यमन्त्री समेत बनेका थिए।
रुकुम पश्चिमबाट गोपाल शर्मा र सल्यानबाट रमेश मल्ल निर्वाचित भएका छन्। यी तीनै जना पूर्व माओवादी पृष्ठभूमिका नेता हुन्।
राप्रपा र रास्वपाको पनि उपस्थिति
राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशभर एक मात्र सिट जितेको छ र त्यो सिट कर्णालीबाट आएको हो। जुम्लाबाट ज्ञानबहादुर शाही पुनः निर्वाचित हुँदै राप्रपाको साख जोगाएका छन्।
२०७९ को निर्वाचनमा पनि उनले जुम्लाबाट राप्रपाबाटै जित हासिल गरेका थिए। त्यसबेला कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै उनी पहिलो प्रयासमै सांसद बनेका थिए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि कर्णालीबाट ऐतिहासिक जित हासिल गरेको छ। सुर्खेत–२ मा रास्वपा जिल्ला सभापति रमेशकुमार सापकोटाले कांग्रेस, एमाले र नेकपालाई पछि पार्दै १४ हजारभन्दा बढी मतान्तरले जित हासिल गरेका हुन्।
रास्वपाले सल्यान, सुर्खेत र दैलेखमा सन्तोषजनक मत पाएको भए पनि अन्य क्षेत्रमा भने अपेक्षाकृत मत प्राप्त गर्न सकेन।
एमाले किन कमजोर बन्यो ?
कर्णालीमा अघिल्ला दुई निर्वाचनमा एमालेको बलियो जनाधार देखिएको थियो। २०७४ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन गरेको एमालेले प्रतिनिधिसभामा कांग्रेसलाई क्लिनस्वीप गर्दै १२ मध्ये ६ सिट जितेको थियो।
प्रदेशसभामा पनि ४० मध्ये २० सिट जित्दै एमाले पहिलो दल बनेको थियो।
२०७९ को आमनिर्वाचनमा पनि समानुपातिकतर्फ एमालेले राम्रो मत ल्याएको थियो। पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्दा पनि एमालेले प्रतिनिधिसभामा एक लाख ८३ हजारभन्दा बढी मत प्राप्त गरेको थियो।
तर यसपटकको निर्वाचनमा एमालेले अपेक्षित परिणाम निकाल्न सकेन। कर्णालीमा कम्तीमा पाँच सिट जित्ने अनुमान गरिए पनि अन्ततः दैलेख–२ मा मात्रै जित निकाल्न सफल भयो।
दैलेख–२ बाट एमालेका लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन्।
एमाले कमजोर हुनुका मुख्य कारण पार्टी विभाजन, प्रभावशाली नेताहरूको पार्टी परित्याग र नयाँ दलहरूको प्रभाव बढ्नु रहेको विश्लेषण गरिएको छ। विशेषगरी सुर्खेत–२ र दैलेख–१ मा एमाले छाडेर रास्वपामा लागेका नेताहरूका कारण मत विभाजन भई परिणाम प्रभावित भएको बताइएको छ।
यस पटक दलहरू अलग–अलग प्रतिस्पर्धामा उत्रिए पनि आफूलाई कर्णालीमा बलियो संगठन भएको दाबी गर्ने एमाले भने अपेक्षाभन्दा निकै कमजोर परिणाममा सीमित भएको देखिएको छ।











