बालसुधार गृहका बालकलाई खेलकुद सामग्री सहयोग, जीवनशैली सुधारमा टेवा पुग्ने अपेक्षा

  • नमस्ते कर्णाली

  • ७, चैत २०८२
    बाँके । बाँकेको नौवस्ता स्थित बालसुधार गृहमा रहेका कानुनी विवादमा परेका बालकहरूका लागि एडभोकेसी फोरम नेपालले खेलकुद सामग्री सहयोग प्रदान गरेको छ। खेलकुद सामग्रीको अभावका कारण बालकहरूले फुर्सदको समय प्रभावकारी रूपमा उपयोग गर्न कठिनाइ भोगिरहेका बेला उक्त सहयोग उपलब्ध गराइएको हो।
    बालसुधार गृहमा रहेका बालकहरूले लिखित रूपमा सहयोगको अनुरोध गरेपछि सुधार गृह प्रशासनसँगको समन्वयमा फोरमले ३४ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका खेलकुद सामग्री उपलब्ध गराएको हो।
    शुक्रबार आयोजित एक कार्यक्रमका बीच एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले बालसुधार गृह प्रमुख श्याम रानालाई सामग्री हस्तान्तरण गर्नुभयो। समाजसेवी जयकेस सिंहको रोहबरमा हस्तान्तरण गरिएको सामग्रीमा फुटबल ३ थान, भलिबल २ थान, र्‍याकेट २ सेट, टेबलटेनिस ब्याट २ सेट, टेबलटेनिस बल ४ थान, लुडो गोटी ५ सेट, चेस गोटी ५ सेट, बास्केटबल १ थान तथा योनेक्स कर्क १ डण्डा समावेश रहेका छन्।
    अधिवक्ता गौतमका अनुसार बालकहरूको शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन र मनोरञ्जनलाई मध्यनजर गर्दै सामग्री प्रदान गरिएको हो। “खेलकुदले बालकहरूको दैनिकीलाई सकारात्मक दिशामा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्छ,” उहाँले बताउनुभयो।
    बालसुधार गृह प्रमुख श्याम रानाले यस्तो सहयोगले बालकहरूको दैनिकीलाई थप व्यवस्थित, सिर्जनशील र स्वस्थ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार खेलकुद सामग्रीले बालकहरूलाई शारीरिक तथा मानसिक रूपमा सक्रिय राख्न सहयोग पुर्‍याउनेछ।
    बालसुधार गृहमा रहेका बालकहरूले पनि नयाँ सामग्री प्राप्त भएपछि खेल, मनोरञ्जन र तन्दुरुस्तीका गतिविधिमा उत्साह थपिएको बताएका छन्। यसअघि पर्याप्त सामग्री अभावका कारण उनीहरूले फुर्सदको समय उपयोग गर्न कठिनाइ महसुस गर्दै आएका थिए।
    एडभोकेसी फोरम नेपालले यसअघि पनि बालसुधार गृहका बालकहरूको शिक्षा, स्वास्थ्य, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापनासम्बन्धी क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ। संस्थाले अङ्ग्रेजी भाषा सिकाइ, हेयरकट तालिमलगायत सीपमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै आर्थिक रूपमा कमजोर तथा कानुनी सेवा लिन नसक्नेहरूका लागि निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको छ।
    समग्रमा, खेलकुद सामग्री सहयोग बालकहरूको समग्र विकास, स्वस्थ जीवनशैली र सकारात्मक सोच निर्माणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

  • ७ चैत्र २०८२, शनिबार १३:५४ प्रकाशित

  • Nabintech