७, चैत २०८२
बाजुरा।अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराले घरमै पुगेर नागरिकता प्रमाण पत्र वितरण गरेको छ । जिल्लाको बूढीनन्दा नगरपालिका–६ कोटिलाका ३३ वर्षीया खगिन्द्र भाटलाई बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले घरमै पुगेर नागरिकता प्रमाणपत्र वितरण गरेका हो ।
भारतको मुम्बईमा रोजगारी गर्दै आएका खगिन्द्र भाटलाई मुम्बईको बेलपुरामा सन् २०१८ मा रेल दुर्घटना हुँदा दुईवटै खुट्टा गुमाउनु परेको थियो । दुर्घटनाबाट बाँचेका भाटले आफूसँग भएका नेपाली नागरिकताको प्रमाणपत्रसहित अन्य आवश्यक कागजातसमेत हराए ।
दुर्घटनापछि रोजगारी गुमाएका कारण उनी स्वदेश फर्किए । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीसम्म बसमा आएका भाट दुर्गम तथा विकट आफ्नो गाउँमा हिँड्डुल गर्न नसक्ने भएपछि पुनःधनगढीमा कोठा भाडामा बस्दै आएको छ । रेल दुर्घटनामा नागरिकता हराएपछि उहाँ राज्यबाट पाउने सुविधाबाट समेत वञ्चित हुँदै आएको थियो ।
राज्यबाट प्राप्त हुने सेवा सुविधा लिनका उनका बुबाले वडाको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता प्रमाणपत्रको अभावमा भोगिएको समस्या बारे प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई जानकारी गराए । सो समस्या समाधानका लागि प्रजिअ निरौलाले भाटलाई घरमै पुगेर नागरिकताको प्रतिलिपि दिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए ।
उनका अनुसार नागरिकता प्रमाणपत्रबाट वञ्चित हुन नदिने गरी वडाको सिफारिस र भाटको बुबाको आग्रहपछि प्रमुख जिल्ला अधिकारी निरौलाले घरमै पुगेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरिएको हो । जिल्ला प्रशासन कार्यालयले अशक्त, असहाय, वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई घरमै पुगेर सेवा दिने गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
उनका अनुसार अशक्त तथा सेवासम्म पहुँच नपुगेका नागरिकलाई लक्षित गर्दै घरदैलोमै पुगेर सेवा प्रदान गरिएको हो । राज्यको सेवा सबै नागरिकसम्म समान रूपमा पुग्नुपर्छ भन्ने मान्यताअनुसार हामीले धनगढीमै पुगेर नागरिकताको प्रतिलिपि दिएको उनले बताए । वडाको सिफारिस र हाम्रो आग्रहपछि स्थानीइ प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउँदै घरमै पुगेर प्रतिलिपि वितरण गरिएको खगिन्द्रका बुबा मदनबहादुर भाटले जानकारी दिए ।
राज्यको यस्तो पहलले सेवाप्रवाहलाई प्रभावकारी र समावेशी बनाउने गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी निरौलाले भने, अशक्त र पहुँचबाट टाढा रहेका नागरिकसम्म पुग्ने यस्ता कामले राज्यप्रतिको भरोसा बढाएको छ । दुर्गम बाजुराबाट ३०० किलोमिटर टाढा धनगढीसम्म पुगेर सेवा दिन स्थानीय प्रशासनको सक्रियता र संवेदनशीलताको यो एउटा अनुपम उदाहरण हो । यसले सेवा लिन असमर्थ नागरिकका लागि राज्यको उपस्थिति अझ नजिकबाट अनुभूत गराएको छ नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले बताए ।











